काठमाडौं- जिल्ला अदालत काठमाडौंले निर्वतमान सभामुख कृष्णबहादुर महरालाई जबर्जस्ती करणी उद्योगको मुद्दामा अनुसन्धानका लागि थप तीन दिन थुनामा राख्न अनुमति दिएको छ।
संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोप लागेका निवर्तमान सभामुख महरा असोज १९ गतेदेखि प्रहरीको नियन्त्रणमा छन्।
दसैं बिदाका समयमा पक्राउ परेका महरा जिल्ला अदालतको पक्राउ पुर्जीका आधारमा निवासबाटै पक्राउ परेका थिए।
बलात्कार प्रयासको आरोपबारे जिल्ला सरकारी वकिलको कार्यालयमा भएको बयानपछि उनलाई जिल्ला अदालत पेस गरिएको थियो।
जिल्ला अदालतले म्याद थप विषयको बहस सुनेर थप ३ दिन थुनमा राख्न अनुमति दिएको हो।
सरकारी वकिलका तर्फबाट बहस गर्दै उमाकान्त पौडेलले महरालाई १३ दिन हिरासतमै राखेर अनुसन्धान गर्न पनि म्याद थप गर्न माग गरेका थिए। उनलाई यसअघि नै १० दिन हिरासतमा राखिसकिएको छ।
महराका तर्फबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले बहस गरेका थिए। उनले बन्दीप्रत्यक्षीकरणको मुद्दामा २४ घण्टाभन्दा बढी हिरासतमा राख्न नमिल्ने भए पनि गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै म्याद थप गर्न नहुने माग गरेका थिए।
न्यायाधीश दीपककुमार दाहालको इजलासले महरामाथि लागेको बलात्कार आरोपको थप अनुसन्धान गर्न तीन दिन म्याद थप गर्न अनुमति दिएको हो।
पक्राउपछि महरा सिंहदरबार वृत्तमा प्रहरी हिरासतमा रहँदै आएका थिए। तर स्वास्थ्यमा गडबडी भएपछि उनी नर्भिक अस्पताल भर्ना भएका थिए।
प्रहरीले मंगलबार उनलाई नर्भिकबाट सिधै जिल्ला सरकारी वकिलको कार्यालय पेस गरेको थियो ।
अदालतका सरकारी वकिलले उनको बयान नै गर्न नसकिएकाले थप समय आवश्यक भएको बहस गरेका थिए।
तर स्वास्थ्य अवस्था बिग्रिएपछि केही दिनयता महरा नर्भिक अस्पतालमा उपचाररत थिए।
मंगलबार अस्पतालबाटै उनलाई सरकारी वकिलको कार्यालय लगेर थुनछेक बहस गरेपछि म्याद थपका लागि काठमाडौं जिल्ला अदालत पेस गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।