राजविराज- सप्तरीको राजविराज-५ स्थित शिव इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलका शिक्षकले एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन्।
शिक्षकको कुटपिटका कारण राजविराज-७ निवासी सदानन्द भगतका छोरा १४ वर्षीय सुमित भगत घाइते भएका छन्। कक्षा ६ मा अध्ययनरत सुमितको पिठ्युँमा चोट लागेको छ। घटनाको दोश्रो दिन पनि उनको पिठ्युँमा कुटपिटको निलडाम यथावत छ।
होस्टलमा नबसेर विद्यालयको बस चढी घर जान खोजेको भन्दै शिक्षक चन्दनकुमार झाले आफूलाई कुटपिट गरेको सुमितले बताए। उनी विगत ६ महिनादेखि विद्यालयको होस्टलमा बसेर अध्ययनरत छन्। दसैं बिदापछि विद्यालय सञ्चालन आएको पहिलो दिन आफूलाई होस्टलमा बस्न मन नलागेर घर जान खोज्दा एक्कासी कुटपिट गरिएको उनको भनाइ छ।
‘विद्यालय छुट्टि भएपछि म बसमा बसिरहेको थिएँ, प्लास्टिकको पाइप बोकेर चन्दन सर त्यहाँ आउनुभयो,’ सुमितले भने, ‘मैले केही भन्नै पाइनँ। तेरा हातखुट्टा भाँचिदिन्छु भन्दै ड्याम-ड्याम कुटनु भो।’ शिक्षकको कुटपिटपछि सदानन्द आफैं विद्यालय पुगेर छोरालाई घर लगेका थिए।
घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा जानकारी गराउँदा प्रहरीले समेत बेवास्ता गरेको उनले गुनासो गरे। ‘जिल्ला प्रहरी कार्यालयमा मैले दुईपटक फोन गरेँ,’ उनले भने, ‘उजुरी नदिई हामी आउँदैनौँ भनेपछि वडा प्रहरी कार्यालयमा पनि पुगें।’ वडा प्रहरी कार्यालयले आफ्नो क्षेत्र नै नभएको भन्दै फर्काएको सदानन्दको गुनासो छ।
सदानन्द राजविराजमा चटपटे बेचेर छोरालाई बोर्डिङ स्कुलमा पढाउँछन्। पढाइमा कमजोर भएकाले विगत ६ महिनादेखि होस्टलमा राख्नु परेको उनले बताए। कुटपिटका क्रममा शिक्षक झाले आफूलाई ‘तलाईं मारेर नालामा फालिदिन्छु' समेत भनेको सुमितले बताए। भदौपछि शिक्षक झाले यसैगरी तीनपटकसम्म आफूलाई कुटपिट गरेको उनको भनाइ छ।
‘केही समस्या भए सम्झाउन सकिन्थ्यो। तर, यसरी गोरु कुटेझै कुटेर कस्तो शिक्षा दिन खोजिएको हो?,’ सदानन्दले प्रश्न गरे।
सुमितका अनुसार झाले होस्टलका अन्य बालबालिकालाई समेत निर्घात कुटपिट गर्ने गरेका छन्। सदानन्दले शिक्षक झाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिने तयारी गरेका छन्।
विद्यालयका प्रधानाध्यापक नरेशप्रताप साहले भने विद्यार्थी र अभिभावकले भनेझैं गोरु कुटजस्तो नभई सामान्य सजाय मात्र दिएको दाबी गरे। ‘विद्यार्थी पढाइमा कमजोर छ। अभिभावकले सुधारी दिनुपर्यो भनेर होस्टल राखेका थिए। तर, होस्टलमा नबसेर सधैं घर जान खोजेपछि शिक्षकले सामान्य सजाय दिएको हुनसक्छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।