काठमाडौं- हत्या आरोप लागेका कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई अनुसन्धानका लागि ७ दिनको म्याद थप गरिएको छ। आज जिल्ला अदालत रौतहटमा उपस्थित गराइएकोमा उनलाई न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले ७ दिनको म्याद थप गरहेको हो।
विसं २०६४ सालमा बम बनाउने क्रममा पड्केर घाइते भएका केही व्यक्तिलाई आलमले इँटा भट्टामा पोलेर मारेको अभियोग लागेको छ। उनलाई गत आइतबार प्रहरीले रौतहटबाट पक्राउ गरेको थियो।
सर्वोच्च अदालतले २०६९ मा उनलाई पक्राउ गरेर अनुसन्धान गर्न आदेश दिएको थियो। त्यसको ७ वर्षपछि मन्त्री आलम पक्राउ परेका हुन्।
२०१९ असार ५ गते जन्मिएका अफताब आलमले स्नातक (बिएससी) सम्मको अध्ययन गरेका छन्।
२०५३ सालको उपनिर्वाचन, २०५६ र २०६४ सालमा रौतहटबाट विजयी भएका आलमले ६ पटक विभिन्न मन्त्रालयहरु सम्हालिसकेका छन्। ०७४ सालमा सम्पन्न निर्वाचनमा उनी रौतहट क्षेत्र नम्बर २ बाट विजयी भएका थिए।
२०३४ सालबाट नेपाली कांग्रेसबाट राजनितिक यात्रा सुरु गरेका आलम २०४५ सालदेखि पार्टीको कार्यबाहक सभापति हुँदै दुईपटक जिल्ला सभापति र एकपटक केन्द्रीय सदस्य भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।