काठमाडौं- जबरजस्ती करणी उद्योग आरोपमा पक्राउ परेका निर्वतमान सभामुख कृष्णबहादुर महरालाई अदालत लगिएको छ। नर्भिक अस्पतालमा उपचार गराइरहेका महरालाई आज म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको हो।
संसद् सचिवालयकी एक कर्मचारीलाई जबरजस्ती करणीको आरोपमा महरा असोज १९ गते पक्राउ परेका थिए। पक्राउ परे लगत्तै दसैं बिदा भएकाले अदालत बन्द थियो। जसकारण उनलाई आज मात्रै म्याद थपका लागि आज अदालत लगिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए।
म्याद थपका लागि पहिला सरकारी वकिलको कार्यालय हुँदै अदालत लैजानुपर्छ। सोका लागि महरालाई जिल्ला अदालत काठमाडौं लगिएको हो।
आरोपित महरालाई प्रहरीले महानगरीय प्रहरी वृत सिंहदरबारको हिरासतमा राखेको थियो। पछि उनको स्वासथ्यमा समस्या आएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो। अस्पतालबाटै उनलाई अदालततर्फ लगिएको हो।
जबरजस्ती करणी उद्योगमा बढीमा २५ दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न सकिने कानुनी प्रावधान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।