काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलन मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ। सम्मेलनको एक विशेष समारोहका बीच आज राष्ट्रपति विद्यादेवी भन्डारीले उद्घाटन गरिन्।
मंगलबारदेखि ३ दिनसम्म हुने विश्व सम्मेलनका लागि एनआरएनए प्रतिनिधिहरूको व्यस्तता बढेको छ। सम्मेलन होटल हयातमा सुरु भएको हो।
विश्वका ८१ देशमा एनआरएनएका सदस्य ८२ हजारको संख्यामा रहेको बताइएको छ। ती देशबाट बढीमा २५ सय प्रतिनिधिले मतदानमा भाग लिने अनुमान गरिएको छ।
गैरराजनीतिक र स्वतन्त्र संस्थाका रुपमा विधानमा परिभाषित गरिए पनि संघमा राजनीतिक प्रभाव हाबी भएको बताइन थालिएको छ। च्याप्टर देशहरूमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रतिपक्ष दल नेपाली कांग्रेसको प्यानल बनाएर अधिवेशन भएका थिए।
दल निकट रहेका प्रतिनिधिको सम्मेलनमा बाहुल्यता हुने निश्चितप्राय छ। च्याप्टर देशमा देखिएको राजनीतिक रङ केन्द्रीय महाधिवेशनमा स्पष्ट देखिने भएको छ।
विश्व सम्मेलनले आगामी २ वर्षका लागि संघको नयाँ नेतृत्व चयन गर्नेछ। कुल आचार्य र कुमार पन्त अध्यक्षका लागि दौडमा छन्। प्रमुख प्रतिपक्षी दल कांग्रेसको आडमा आचार्यले प्यानल नै बनाएर औपचारिक रुपमा उम्मेद्वारी घोषणा गरेका छन्। अधिवेशन सुरु हुनुभन्दा एक दिनमात्र पहिले पत्रकार सम्मेलन गरी प्यानल नै घोषणा गरेका आचार्यले आइतबार र सोमबार कांग्रेस नेताहरूसँग भेट गरेका थिए। उनले प्यानल बनाउनका लागि नै कांग्रेसका नेताहरूलाई भेटेको बताइएको छ।
आचार्यको प्यानलमा उपाध्यक्षमा डा केशव पौडेल, नरेन्द्र भाट, मन केसी र रविना थापा छन्। विधानमा उपाध्यक्षमा ५ जना चयन हुने प्रावधान छ। अध्यक्षका प्रत्यासी आचार्य वर्तमान कार्यसमितिका उपाध्यक्ष हुन्। बेलायतमा बसोबास गर्दै आएका आचार्य रेष्टुरेन्ट व्यवसायी हुन्। उनले नेपालमा जलविद्युतको क्षेत्रमा लगानी गरेका छन्।
अध्यक्षका अर्का प्रत्यासी कुमार पन्तको प्यानल घोषणा भइसकेको छैन। पन्तको समूहको औपचारिक घोषणा नभए पनि भित्री तयारी भइसेकेको बताइएको छ। लगानीमा योगदान, सम्मानपूर्ण वैदेशिक रोजगारी, नागरिकता र मतदानको अधिकार, दिगो संगठन र व्यापक सहभागिता पन्तका विश्व सम्मेलन केन्द्रित मुद्दा छन्।
पन्त दुई पटकसम्म उपाध्यक्ष चुनिएका व्यक्ति हुन्। गत विश्व सम्मेलनमा अध्यक्षमा रुची देखाए पनि अध्यक्षमा भवन भट्टलाई सहयोग गर्ने गरी उपाध्यक्षमै चित्त बुझाएका थिए।
यसपटकलाई अध्यक्षको आधार तयार गरेका पन्तलाई उपाध्यक्षका प्रत्यासी तथा वर्तमान महासचिव डा बद्री केसीको समर्थन रहेको छ।
पूर्वअध्यक्ष जीवा लामिछानेको पनि पन्तलाई समर्थन रहेको बताइएको छ। अर्कोतर्फ दुई कार्यकाल अध्यक्षको पद हाँकेका अर्बपति शेष घलेको समर्थन आचार्यको पक्षमा भएको बुझिएको छ। संस्थापक अध्यक्षसमेत रहेका डा उपेन्द्र महतो एनआरएनएमा प्रभावशाली व्यक्तिका रूपमा लिने गरिएको छ।
तर, हालसम्म उनी कुनै पनि उम्मेद्वारका पक्षमा प्रस्तुत भएका छैनन्। (तस्बिर- परराष्ट्र मन्त्रालय)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।