सगरमाथाको उचाइ नेपाल र चीनले संयुक्त रूपमा घोषणा गर्ने, यस्तो छ सहमति

नेपाल लाइभ | २०७६ असोज २६ आइतबार | Sunday, October 13, 2019 १८:१२:०० मा प्रकाशित

काठमाडौं- नेपाल र चीनबीचमा भएको १४ बुदेँ संयुक्त वक्तव्यमा सगरमाथाको उचाइको विषयसमेत समेटिएको छ।

दुवै देशको सीमा छुट्टाउने विश्वकै अग्लो सगरमाथाका विषयमा दुई देशको संयुक्त वक्तव्यको बुदाँ नम्बर ८ मा अटाएको छ। 

उक्त बुदाँमा नेपाल र चीनबीच सगरमाथाको उचाई संयुक्त रुपमा घोषणा गर्ने सहमति उल्लेख छ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको अन्तिममा जारी १४ बुँदे संयुक्त वक्तव्यमा माउन्ट सगरमाथालाई नेपाल र चीन मित्रताको प्रतीक भएको स्वीकार गरिएको छ।

जलवायु परिर्वतन र पर्यावरणको रक्षाका लागि दुई देशले सहकार्य गर्ने पनि संयुक्त वक्तव्यमा उल्लेख छ।

सीले रात्रीभोजको आफ्नो सम्बोधनमा पनि जलवायु परिर्वतनको मुद्दामा चीन नेपालसंगै रहेको भनेका थिए।

उनले यो मुद्दामा नेपाली चासो र चिन्तालाई जायज भएको भन्दै ढाडस दिन खोजेका थिए।

केही दिन पहिले नेपालले सरकारी टोली खटाएर सगरमाथाको उचाई नाप्ने कार्य काम गरेको थियो।

उक्त समितिले प्रतिवेदन तयार गरिरहेको छ।

यही अवस्थामा भएको चिनियाँ उच्च तहको भ्रमणमा दुवै देशले संयुक्त रुपमा घोषणा गर्ने समहति भएको छ।