काठमाडौं- नेपाल र चीनको प्रतिनिधिमण्डलबीच आइतबार द्विपक्षीय वार्ता हुने भएको छ।
नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चीनपिङ नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डल र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलबीच द्विपक्षीय भेटवार्ता हुन लागेको हो।
भ्रमणको पहिलो दिन राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका राष्ट्रपति सीले कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेट गरेका थिए।
परराष्ट्र मन्त्रालयका अनुसार आइतबार बिहान साढे १० बजे सत्तारुढ नेपाल कम्युनष्टि पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटवार्तापछि द्विपक्षीय वार्ता हुनेछ।
यस्ता छन् वार्ताका एजेन्डाः
दुई देशका प्रतिनिधिमण्डल बीचको वार्तामा हुने सम्झौतालाई निकै चासोका साथ हेरिएको छ। त्यसमाथि दुई दशकभन्दा धेरै समयपछि भएको चिनियाँ राष्ट्रपतिको भ्रमणका बेला महत्वपूर्ण सम्झौता हुने ठानिएको छ।
राष्ट्रपति सीको भ्रमणको अवसरमा केही ठूला आयोजना आयोजनालाई गति दिने गरी सम्झौताको तयारी भइरहेको छ।
गत बिहीबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले भ्रमणका एजेण्डा तथा सम्झौतालाई स्वीकृत गरिसकेको छ। 'हामी केही गेम चेन्जर आयोजनालाई अघि बढाउने गरी दुई देशबीच सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्दैछौँ,' दुई पक्षीय वार्ताका लागि एजेण्डा तयार गर्न संलग्न रहेका एक सरकारी अधिकारीले भने।
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका बेला हुने वार्तामा नेपालले सबैभन्दा महत्वका साथ काठमाडौं-केरुङ रेलमार्ग तथा चीन जोड्ने रणनीतिक सडकलाई प्राथमिकतामा राखेको छ। काठमाडौं-केरुङ रेलमार्गको विस्तृत आयोजना प्रतिवेदन तयार गर्न दुई देशबीच सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी भएको ती अधिकारीले बताए।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीका अनुसार सुरुमा तयार गरिएका करिब डेढ दर्जन आयोजनाको सूचीबाट केही आयोजना हटाएर १ दर्जन प्रस्ताव तयार गरिएको छ। 'सुरुमा हामीले धेरै आयोजनालाई सूचीमा राखेका थियौँ, अहिले अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयले त्यसबाट केही आयोजना हटाएर प्रस्तावलाई अन्तिम रुप दिइएको छ,' उनले भने।
प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी दुवैले उच्च महत्व दिएको केरुङ-काठमाडौं रेलमार्ग निर्माणका लागि चीनलाई सहमतिमा ल्याउने गरी प्रस्ताव तयार गरिएको स्रोतको दावी छ। यो आयोजनाको कूल लागतमध्ये ७५ प्रतिशत भन्दा धेरै रकम चीनलाई ब्यहोर्न आग्रह गर्ने तयारी नेपालको छ।
राष्ट्रपति भण्डारीले शनिबार साँझ आयोजना गरेको रात्रीभोजमा ‘भूपरिवेष्टितबाट भू-जडित बन्न सघाउँछौं’ भन्ने सीको भनाइले उकत रेलमार्ग निर्माणमा चीनका तर्फबाट सकारात्मक संकेत भने मिल्छ।
यसैगरी काठमाडौंको टोखाबाट नुवाकोटको छहरे जोड्नेगरी सवा ४ किलोमिटर लामो सुरुङमार्ग निर्माणमा आज सम्झौता हुने निश्चित प्रायः भइसकेको ति अधिकारीले बताए। यो खण्ड पहिलो चरणमा निर्माण हुनेछ। दोस्रो चरणमा यसलाई केरुङसम्मै पुर्याउनेगरी नेपाली पक्षले प्रस्ताव गरेको छ। यसमा चिनियाँ पक्ष सकारात्मक रहेको बुझिएको छ।
त्यस्तै, नेपाल र चीन जोड्ने रसुवागढी र तातोपानी नाका जोड्ने स्थलमार्ग स्तरोन्नति गर्न नेपालले प्रस्ताव राख्ने तयारी गरेको छ।
पश्चिम सेती जलविद्युत आयोजनाबाट चिनियाँ कम्पनी बाहिरिएपछि नेपालले फुकोट कर्णाली जलविद्युत आयोजनालाई अघि बढाउन चीनलाई प्रस्ताव गर्दैछ। योसँगै नेपाल-चीन अन्तरदेशीय विद्युत प्रसारण लाइन पनि छलफलको एजेन्डामा पर्नेछन्। सरकारले बजेटरी सहायता दिन पनि चीनलाई आग्रह गर्ने तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।