काठमाडौं- चीनका राष्ट्रपति सी चिनफिङ आज काठमाडौं आइपुगेका छन्। आफ्नो दुई दिने राजकीय भ्रमणका लागि उनी अपरान्ह काठमाडौं उत्रिएका हुन्।
उनी राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल भ्रमणमा आएका हुन्। सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति भण्डारीले स्वागत गरेकी थिइन्।
सी सवार एयर चाइनाको विशेष विमान अपरान्ह ४ः४७ मा अवतरण गरेको थियो। यसअघि ४ः३० अवतरण हुने भनिएकोमा १७ मिनेट ढिलो गरी विमान काठमाडौं उत्रिएको हो। सी सवार विमान अवतरण हुनुपूर्व अपरान्ह ४ः१० मा रेकी गर्ने विमान अवतरण भएको थियो। विमानस्थल कार्यालयका प्रमुख देवेन्द्र केसीका अनुसार एयर चाइनाकै सो विमानमा चिनियाँ डेलिगट्सहरु सवार थिए।
स्वागतपश्चात् चिनियाँ राष्ट्रपति सी लाई त्रिभुवन विमानस्थलमै 'गार्ड अफ अनर' अर्पण गरिएको थियो। नेपाली सेनाको एक टुकुडीले सीको सम्मानमा २१ तोपको सलामीसमेत दिएको थियो।
चीनका राष्ट्रपति नेपाल आएको यो घटना २३ वर्षपछिको हो। यसअघि सन् १९९६ मा चीनियाँ राष्ट्रपति जियाङ जमिनले नेपालको भ्रमण गरेका थिए। उनको भ्रमण पनि दुई दिने नै थियो।
पछिल्लो पटक भने सन् २०१२ मा तत्कालीन चिनियाँ प्रधानमन्त्री वेन च्यापाओले नेपाल भ्रमण गरेका थिए। तर उनको भ्रमण केवल पाँच घण्टाका लागि भएको थियो।
चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणमा ल्याउने प्रयास सरकारले गरिरहेको थियो। कतिपय सन्दर्भमा यो सरकारको लागि प्रतिष्ठाको विषय पनि बनेको थियो।
बेलाबेलामा चिनियाँ राष्ट्रपतिको भ्रमणको चर्चा चल्ने गरे पनि चर्चामै सीमित हुने गरेको अवस्थामा अहिले सो चर्चाले सिद्ध रुप लिएको हो।
पछिल्लो समय दुई ठूला कम्युनिस्ट पार्टीले चुनावमार्फत बहुमत प्राप्त गरेको, एकीकरणमार्फत बलियो शक्ति बनेको र राजनीतिक स्थिरतातर्फ मुलुक अघि बढेका कारण चिनियाँ राष्ट्रपतिको भ्रमण सम्भव भएको धेरैले बताउने गरेका छन्।
सीको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति भण्डारीसँगै प्रधानमन्त्री केपी शर्मा ओली तथा मन्त्रीपरिषद्का अन्य सदस्यहरुसमेत पुगेका थिए।
सीले आजै राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका छन्। साँझ राष्ट्रपति निवास शीतल निवासमा भएको दुई समकक्षी बीचको भेटवार्तामा दुई देशबीच रहिआएको मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल हुनुका साथै दुवै मुलुकको आपसी सम्बन्धलाई थप मजबुत तुल्याउने विषयमा समेत विस्तृत कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरि प्रसाद दहालले जानकारी दिए।
भेटवार्ताका क्रममा राष्ट्रपति सीले शीतल निवासमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षरसमेत गरेका छन्।
सोपश्चात् दुवै राष्ट्रपति बीचमा प्रतिनिधिमण्डल स्तरीय वार्ता भएको छ। सो वार्तामा नेपाली पक्षबाट राष्ट्रपति भण्डारीसँगै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, खानेपानीमन्त्री बिना मगर तथा चीनका लागि नेपालका राजदूत लिलामणि पौडेललगायतको उपस्थिति रहेको थियो।
चिनियाँ पक्षबाट राष्ट्रपति सीसँगै विदेशमन्त्री वाङ यी, नेपालका लागि चिनियाँ राजदूत यु होङलगायत सहभागी थिए।
यसैगरी पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग राष्ट्रपति सीले भेट गरेका छन्। होटल सोल्टीमै यी दुई नेताको बीचमा भेट भएको हो। भेट निकै छोटो समयका लागि मात्रै भएको बतायएको छ।
राष्ट्रपति सी बस्ने होटल सोल्टीमै आज राष्ट्रपति भण्डारीले रात्रिभोजको आयोजना गरेकी छिन्। सो कार्यक्रममा दुवै राष्ट्रपतिका अलावा विशिष्ट पाहुनाहरुको सहभागिता रहको छ। भोज अहिले जारी छ।
शुक्रबार भारतको यात्रामा निस्केका सी शनिबार त्यहाँको भ्रमण सकाएर चेन्नईबाट नेपालका लागि प्रस्थान गरेका हुन्।
चिनियाँ राष्ट्रप्रमुखको नेपालमा औपचारिक भ्रमण भएको यो २३ वर्षमा पहिलो अवसर हो। सीको स्वागतको लागि विमानस्थल तथा उनी बस्ने होटल सोल्टीसम्मको सडक दुवैतर्फ विशेष तवरबाट सिँगारिएको थियो। यसलाई विशेषरुपमा लिँदै नेपाल सरकारले चिनियाँ राष्ट्रपतिलाई उच्चस्तरको आतिथ्यता प्रदान गर्ने तयारी गरेको थियो।
सोक्रममा विमानस्थलदेखि माइतीघर मण्डलासम्म सडकका दुवैतर्फ निजामति कर्मचारीलाई स्वागतका लागि खटाइएको थियो। नेपाल र चीनको झण्डा लिइ सडक किनारामा उभिएर सीको स्वागत गरेको दृश्य मनमोहक देखिन्थ्यो। यस अलावा स्थानीय तथा विविध क्षेत्रका व्यक्तित्वसमेत सीको सवारी हेर्न सडक किनारामा लामबद्ध भएका थिए। यो क्रमम होटल सोल्टीसम्मै देखिन्थ्यो।
यता सरकारले सीको सवारीका क्रममा सुरक्षा सम्बेदनशीलतालाई मध्यनजर गर्दै काठमाडौंको सुरक्षा व्यवस्था कडा बनाएको थियो। सीलाई ४ तहको सुरक्षा घेरामा राखेको सरकारले सीको सवारी हुने क्षेत्रमा समेत सुरक्षा तैनाथी बाक्लो बनाएको थियो। सीको सवारीका क्रममा सडक खाली बनाइएको थियो।
विमानस्थल तथा सडकका विभिन्न स्थानमा सीको स्वागतका लागि विभिन्न भेषभुषा तथा संस्कृति झल्किने नृत्य तथा झाँकीसमेत प्रस्तुत गरिएको थियो।
सीले शनिबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेट गर्नेछन्। सोपश्चात् प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट हुनेछ। ओली र चिनफिङबीच प्रतिनिधिमण्डल स्तरीय भेटघाट हुने सो क्रममा केही महत्वपूर्ण सम्झौतामा हस्ताक्षरसमेत हुनेछ।
सरकारले चिनियाँ प्रतिनिधिमण्डल स्तरीय बैठकमा विभिन्न एक दर्जन भन्दा बढी प्रस्ताव पेस गर्ने बताइएको छ। सोमध्ये केरुङ-काठमाडौं रेलमार्गलाई महत्वपूर्ण रुपमा हेरिएको छ।
सी आइतबार १ बजे स्वदेश फर्कने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।