काठमाडौं- चीनका राष्ट्रपति सी चिनफिङ काठमाडौं आइपुगेका छन्। आफ्नो दुई दिने राजकीय भ्रमणका लागि उनी शनिबार दिउँसो काठमाडौं उत्रिएका हुन्।
उनी राष्ट्रपति विद्या भण्डारीको निमन्त्रणामा नेपाल भ्रमणमा आएका हुन्।
सीलाई विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन्।
चीनका राष्ट्रपति नेपाल आएको यो घटना २३ वर्षपछिको हो। यसअघि सन् १९९६ मा चीनियाँ राष्ट्रपति जियाङ जमिनले नेपालको भ्रमण गरेका थिए। उनको भ्रमण पनि दुई दिने नै थियो।
पछिल्लो पटक भने सन् २०१२ मा तत्कालीन चिनियाँ प्रधानमन्त्री वेन च्यापाओले नेपाल भ्रमण गरेका थिए। तर उनको भ्रमण केवल पाँच घण्टाका लागि भएको थियो।
चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणमा ल्याउने प्रयास सरकारले गरिरहेको थियो। कतिपय सन्दर्भमा यो सरकारको लागि प्रतिष्ठाको प्रश्न पनि भएको थियो।
बेलाबेलामा चिनियाँ राष्ट्रपतिको भ्रमणको चर्चा चल्ने गरे पनि चर्चामै सीमित हुने गरेको थियो।
पछिल्लो समय दुई ठूला कम्युनिस्ट पार्टीले चुनावमार्फत बहुमत प्राप्त गरेको, एकीकरणमार्फत बलियो शक्ति बनेको र राजनीतिक स्थिरतातर्फ मुलुक अघि बढेका कारण चिनियाँ राष्ट्रपतिको भ्रमण सम्भव भएको धेरैले बताउने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।