काठमाडौं- भारतको नयाँदिल्लीमा अक्टोबर ३ र ४ मा हुने विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन अर्थमन्त्री डा युवराज खतिवडा त्यसतर्फ प्रस्थान गरेका छन्।
कार्यक्रममा अर्थमन्त्री खतिवडाले 'दक्षिण एसियाको आर्थिक परिदृश्य' विषयमा अतिथि वक्ताका रुपमा सम्बोधन गर्ने तय भएको छ।
साथै उनले नेपालको विकास एजेन्डा, आर्थिक स्थिति, लगानीको वातावरणमा भएको सुधार, राजस्व क्षेत्रमा भएका सुधारलगायतका विषयमा सहभागीलाई जानकारी गराउनेछन्।
कार्यक्रमको समयमा अर्थमन्त्री डा. खतिवडाले विश्व आर्थिक मञ्चका अध्यक्ष बर्ज ब्रेण्डसँग द्विपक्षीय भेटघाट गर्नेछन्।
यस्तै विश्वका आर्थिक क्षेत्रका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम तय भएको अर्थ मन्त्रालयले जनाएको छ।
भ्रमणका अवसरमा अर्थमन्त्री डा. खतिवडा र भारतीय समकक्षी अर्थमन्त्री निर्मला सितारमणबीच भारतको अर्थ मन्त्रालयमा द्विपक्षीय भेटघाट हुने कार्यक्रम छ।
उनीहरुबीच पछिल्लो आर्थिक स्थिति, नेपाल–भारत सम्बन्ध, भारतले नेपालमा सहयोग गरेका आयोजनाको अवस्थालगायत समसामयिक विषयमा छलफल हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।