कीर्तिपुर– लगातारको वर्षाका कारण नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारका खेल प्रभावित भएका छन् । वर्षाका कारण लुम्बिनी लायन्स र चितवन राइनोजबीचको पहिलो खेल टससमेत नभई रद्द भएको छ ।
निर्धारित तालिकाअनुसार दिउँसो १२:३० बजे सुरु हुनुपर्ने खेल मैदानमा पानी जमेकै कारण सञ्चालन हुन नसकेको हो । बिहीबार रातिदेखि परेको निरन्तर वर्षाका कारण त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालाको मैदान जलमग्न बनेको थियो । मैदान र पिचलाई त्रिपालले ढाकिए पनि वरपरबाट आएको पानी व्यवस्थापन हुन सकेन ।
एनपीएल इतिहासमा वर्षाका कारण खेल रद्द भएको यो पहिलो घटना हो । प्रतियोगितामा रिजर्भ डे नराखिएकाले दुवै टोलीले एक–एक अंक बाँडेका छन् । यसअघि पहिलो खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले र चितवनले विराटनगरलाई ८ रनले पराजित गरेका थिए ।
शनिबार साँझ ५ बजेका लागि निर्धारित विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीचको दोस्रो खेल पनि अन्योलमा परेको छ । उक्त खेलको कटअफ समय साँझ ७:४१ बजे तोकिएको छ ।
वर्षासँगै रंगशालाको पानी निकास प्रणालीमाथि पनि प्रश्न उठेको छ । गत वर्ष १० हजार दर्शक क्षमताको प्यारापिट निर्माण गरिए पनि मैदानको पुरानै ड्रेनेज प्रणालीका कारण पानी निकासमा समस्या देखिएको हो ।
रंगशालाको होचो भूभागमा अन्य क्षेत्रबाट समेत पानी जम्मा हुने गरेको छ । शहरी विकास विभागका पूर्वसहसचिव चक्रवर्ती कण्ठका अनुसार प्रभावकारी पानी निकासका लागि रंगशालाको समग्र गुरुयोजनाअनुसार ठूलो क्षमताको ड्रेनेज प्रणाली निर्माण गर्न आवश्यक छ ।
क्यानका उपाध्यक्ष रोशन सिंहले मैदानसँगै बाहिरी क्षेत्रसमेत डुबानमा परेको बताएका छन् । प्रतियोगिता निर्देशक धिरेन्द्र साउदले अपेक्षाभन्दा बढी वर्षा भएकाले ड्रेनसमेत भरिएको र पानी रोकिएपछि मात्रै खेल सञ्चालनको सम्भावना रहने बताएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।