काठमाडौं- नेपाल दुरसञ्चार प्राधिकरणले उपत्यकाभित्रका अव्यवस्थित तार दसैंअगावै हटाइसक्न निर्देशन दिएको छ।
इन्टरनेट सेवा प्रदायक, केबुल अपरेटर तथा अन्य संघसंस्थाहरुले टेलिफोन तथा बिजुलीको खम्बामा अव्यवस्थित रुपमा झुन्ड्याइएका तार व्यवस्थापन गर्न प्राधिकरणले निर्देशन दिएको हो।
अव्यवस्थित रुपमा तार झुन्ड्याउने तथा सडक क्रस गर्ने लगायतका कार्य गर्दा सहरको सुन्दरतामा असर पुग्नुका साथै आगलागीसमेत भई गम्भीर दुर्घटनाहरु हुने गरेका छन्। ‘सहरलाई सुन्दर राख्न तथा आम नागरिकलाई सुरक्षित एवं व्यवस्थित रुपमा सेवा जडान गराउन यसरी अव्यवस्थित, असुरक्षित तथा सडकलाई नै कुरुप बनाउने गरी जडान भएका तथा सडकमा क्रस भएका तारहरुलाई आगामी बडादसैं अगावै व्यवस्थापन गरी सहरको सुन्दरता कायम गर्न गराउन सम्बन्धित सबैलाई अनुरोध गर्दछौं,’ प्राधिकरणले शनिबार जारी गरेको सूचनामा भनिएको छ।
प्राधिकरणले निर्देशन अवज्ञा गर्नेलाई कारबाही गर्ने पनि जनाएको छ।
‘यो सूचनाको अवज्ञा गरी अव्यवस्थित रुपमा तार टाँग्ने वा तारलाई रोड क्रस गराइएको पाइएमा त्यस्ता व्यक्ति तथा संघसंस्थालाई जिम्मेवार बनाई आवश्यक कानुनी कारबाही गर्नुका साथै सम्बन्धित निकायबाट त्यस्ता संरचना तत्काल हटाउन लगाइनेछ,’ सूचनामा भनिएको छ।
अव्यवस्थित रुपमा झुन्ड्याइएका तार हटाउन सम्बन्धित पक्ष नै जिम्मेवार हुने र त्यसको खर्च पनि उनीहरुले नै बेहोर्नुपर्ने प्राधिकरणले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।