काठमाडौं। काठमाडौं उपत्यकामा शनिबार दिनभर वर्षाको सम्भावना रहेपछि नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका दुई खेल प्रभावित हुने जोखिम बढेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार दुई खेलको तालिका रहे पनि मौसम प्रतिकूल हुँदा खेल सञ्चालन अन्योलमा परेको छ।
बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को अवशेष र पश्चिमी वायुको आंशिक प्रभावका कारण काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
शनिबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बादल लाग्नेछ। कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्नेछ। बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना छ।
मौसमविद्हरूले काठमाडौंमा शनिबार साँझसम्म वर्षा जारी रहन सक्ने बताएका छन्। शुक्रबार दिनभर परेको वर्षाले कीर्तिपुरस्थित क्रिकेट मैदानको खेल सञ्चालनमा समेत चुनौती थपेको छ। मैदानमा वर्षाबाट जोगाउन कभर राखिएको छ। लगातारको वर्षाले भिजेको आउटफिल्ड सुकाउन समय लाग्न सक्ने भएकाले खेल निर्धारित समयमा सुरु गर्न कठिनाइ हुन सक्छ।
शनिबारको पहिलो खेलमा दिउँसो १२:३० बजे चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो खेलमा विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्स साँझ ४:३० बजे आमनेसामने हुने तालिका छ।
दुवै खेल एउटै मैदानमा हुने भएकाले वर्षाले पहिलो खेल प्रभावित भए त्यसको असर दोस्रो खेलमा समेत पर्न सक्छ। मैदान खेल्न योग्य बनाउन नसकिए निर्धारित समयको खेल सञ्चालन गर्न कठिन हुनेछ।
एनपीएलमा वर्षाका कारण खेल हुन नसके त्यसको असर अंकतालिकामा समेत पर्नेछ। प्रतियोगितामा ‘रिजर्भ डे’को व्यवस्था छैन। खेल नतिजाविहीन भए दुवै टोलीले एक–एक अंक बाँड्ने व्यवस्था रहेको छ। टस हुनुअघि नै खेल रद्द भए टिकट खरिद गरेका दर्शकलाई रकम फिर्ता गर्ने व्यवस्था पनि रहेको टिकटिङ साझेदारले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार रातिसमेत देशभर साधारणतया बादल लाग्नेछ। आइतबार अपराह्नदेखि भने चक्रवात ‘अर्नब’ को अवशेष र पश्चिमी वायुको प्रभाव क्रमशः कमजोर हुँदै जाने अनुमान गरिएको छ।
यसअघि बिहीबारको खेल वर्षाबीच पनि सम्पन्न भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।