बुटवल- रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गरेको तिलोत्तमा लगानी सम्मेलनमा बोल्ने विभिन्न दलका नेताहरुले रुपन्देही लगानीका लागि सुरक्षित स्थान रहेकोमा जोड दिएका छन्।
स्थानीय पालिकाहरु मध्ये नेपालमै पहिलोपटक आयोजना भएको लगानी सम्मेलनको पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन्। उनले लगानी सुरक्षित हुने र उच्च प्रतिफल प्राप्त हुने भन्दै लगानीकर्ताहरुलाई विश्वास दिलाए।
बुद्ध जन्मस्थल लुम्बिनी, गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल, बेलहिया नाका, विशेष आर्थिक क्षेत्र (सेज) लगायतका पूर्वाधारका कारण तिलोत्तमा नगरपालिकामा लगानीको वातावरण रहेको प्रचण्डको भनाइ थियो। नीतिगत सुधार, ऐन संशोधन र अन्तराष्ट्रिय सम्बन्ध सुधारले लगानीमैत्री वातावरण उल्लेख गर्दै उनले दलाल पुँजी नियन्त्रण र राष्ट्रिय पुँजी प्रवर्द्धनमा सरकारको जोड रहेको बताए।
अर्थमन्त्री डा युवराज खतिवडाले लगानीको वातावरण बनाउन सम्बन्धित ऐन कानुनहरु बनाइसकेको र संसारभरका लगानीकर्तालाई आह्वान गरिसकेको बताए। 'श्रम सम्बन्ध सुधार र बैंक ब्याजदरमा परिमार्जनले लगानी बढेको छ,' उनले भने, 'जमिन उपलब्धता र प्रक्रिया छिटोछरितो बनाउने कार्य अझै पनि चुनौतिपूर्ण छ। तर सरकार यसलाई सरल बनाउने पक्षमै छ।'
उनले भू उपयोग ऐन कार्यान्वयन गर्दा औद्योगिक–व्यावसायिक वातावरण बन्ने बताए। अर्थमन्त्री खतिवडाले बुटवल–सिद्धार्थनगर जोडेर मेगासिटी बनाउन सकिनेमा जोड दिँदै निजी क्षेत्रसँग सहकार्य गर्न पनि सुझाए। नगर विकास कोषलाई नगर विकास निगमका रुपमा अघि बढाउन चाहेको उनले जानकारी गराए।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले राजनीतिक, वित्तीय, यातायात पूर्वाधार सबै हिसाबले रुपन्देही औद्योगिक–व्यावसायिक विकासको प्रचुर सम्भावना बोकेको थलो भएको बताए। रुपन्देहीमा गरिने लगानीबाट लगानीकर्ताले राम्रो प्रतिफल पाउने भएकाले ढुक्क भएर लगानी गर्न उनले आग्रह गरे।
संघीय ऐन कानुन बाधक : मुख्यमन्त्री राउत
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्थानीय तहमा पहिलोपटक तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलन आयोजना गरेर संघीयतामा स्थानीय तह पनि सक्षम छन् भन्ने सन्देश दिएको बताए। मुख्यमन्त्री राउतले स्थानीय पालिकाले आफूहरु पनि सक्षम रहेको सन्देश दिएपनि संघीय ऐन कानुनहरु झन्झटिलो र लगानीमैत्री नभएकाले लगानी भित्रिन कठिन भएको बताए।

केन्द्रीकृत र एकात्मक मानसिकता संघीय सरकारले नत्यागेसम्म लगानीमैत्री वातावरण बन्न नसक्ने उनको भनाइ थियो। स्थानीय, प्रदेश र संघीय सरकारबीच कानुन निर्माण र सोचमा एकरुपता हुनुपर्नेमा मुख्यमन्त्री राउतले जोड दिए।
प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय तहहरु र जनप्रतिनिधि भ्रष्टाचारमा डुबेको आरोप लागिरहेका बेला तिलोत्तमा नगरपालिकाले देशभरका स्थानीय तहहरुका लागि अनुकरणीय काम गरेर देखाएको बताए।
नेकपा महासचिव विष्णु पौडेल, रुपन्देही ३ का प्रतिनिधिसभा सदस्य एवं नेकपा स्थायी समिति सदस्य घनश्याम भुसाल, नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण र रुपन्देही १ का प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले नेपाल भारत सीमानाका, देशको मध्यभाग, ६ लेन सडक, अन्तराष्ट्रिय विमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनी जस्ता पूर्वाधार र सम्पदाले तिलोत्तमामा गरिने लगानी सुरक्षित हुने धारणा राखे।
सम्मेलन आयोजक तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले सम्मेलनमा कृषि, उद्योग, पर्यटन, यातायात, शिक्षा र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित २२ परियोजनाहरु प्रस्ताव गरिएको र कम्तीमा १० परियोजनामा सम्झौता हुने अपेक्षा रहेको बताए।
उद्घाटन सत्रपछि कृषि, पर्यटन, उद्योग र यातायात क्षेत्रमा लगानीका सम्भावना र चुनौतीका समूहगत छलफल हुनेछ। सम्मेलनमा नेपाल, भारत र चीनसहित विदेशी मुलुकबाट समेत गरी ५ सय जना लगानीकर्ता सहभागी रहेका तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।