काठमाडौं- अर्थमन्त्री भएपछि डा. युवराज खतिवडालाई सार्वजनिक कार्यक्रममा निमन्त्रणा गर्दा उनी अक्सर कार्यालय समय (बिहान १० देखि बेलुकी ५ बजेसम्म) बाहेकका समयमा मात्रै आफू उपस्थित हुने जनाउ दिन्थे।
प्रधानमन्त्री उपस्थित हुनेबाहेकका कार्यक्रममा खतिवडाले सार्वजनिक कार्यक्रममा आफ्नो उपस्थितिका लागि कार्यालय समय बाहेकको समय मात्रै दिने गरेका थिए।
खतिवडा यो डेढ वर्षको अवधिमा 'सेलेक्टेड' कार्यक्रममा मात्रै उपस्थित भए। अपवादबाहेक पुल्चोकस्थित मन्त्री निवासमा मान्छे भेटेनन्। यो अवधिमा साँघुरो घेरा भित्रै खतिवडा बसिरहे। आफ्नै पार्टीको नेता/कार्यकर्तासँग पनि उनको निकट सम्बन्ध स्थापित हुन सकेन। 'जति मान्छे भेट्नुहुन्छ, मन्त्रालयमै हो,' अर्थमन्त्रीको सचिवलाय स्रोत भन्छ, 'निवासमा भेटघाट गर्नु हुन्न।'
२०७४ साल फागुन १४ गते अर्थमन्त्री नियुक्त भएपछिको करिब १ वर्ष मन्त्री खतिवडा आफ्नो पुरानै छवि सँधै कायम राखे। 'रिजिड टेक्नोक्य्राट' छविका खतिवडाले अर्थमन्त्रायमै भएको पत्रकार सम्मेलनमा आफू नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य भैसकेको भन्दै टेक्नोक्य्राट मात्रै नभन्न आग्रह नै गरेका थिए।

केन्द्रीय सदस्य भएपछिको पत्रकार सम्मेलनमा उनले भनेका थिए, ‘म त अब राजनीतिक मान्छे भैसकेँ, पार्टीको केन्द्रीय सदस्य भएको छु।‘ खतिवडा आफैँले दावी गरे पनि उनलाई 'राजनीतिक मान्छे' बन्न नसकेको आरोप नजिकबाट चिन्नहरु नै लगाउँछन्।
अर्थमन्त्री खतिवडालाई पार्टीको काममा अल्झनु परेको छैन। पार्टी केन्द्रीय सदस्य भए पनि उनको पार्टीको केन्द्रीय समिति बैठक नै नबसेकाले उनले त्यता समय दिनुपरेको छैन। संसदीय दलको बैठकमा उपस्थित हुनुबाहेक उनले पार्टीलाई समय दिनुपर्दैन।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी एमालेको चुनावी घोषणापत्रको मस्यौदाकार मध्येका एक खतिवडा आफैँले त्यही घोषणापत्र कार्यान्वयन गर्ने गरी महत्वपूर्ण जिम्मेवारी पाए। खतिवडाले पहिलो पटक ल्याएको बजेटको पार्टीले अपनत्व नै लिएन। बजेट आएको २ महिना नबित्दै उनकै पार्टी अध्यक्ष पुष्पकलम दाहालले भनिदिए, 'वृद्धभत्ता बढाउन पुरक बजेट ल्याउछौँ।'
अर्थमन्त्री खतिवडा बुधबार दिउँसो नेपाल खुद्रा व्यवसायी संघको एउटा कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित भए। असोज २ गते यार्न एन्ड टेक्सटाइल एक्स्पो २०१९ मा पनि अर्थमन्त्री ११ बजेपछि उपस्थित भए।
अर्थमन्त्री खतिवडा असोज ४ गते पोखरा उद्योग वाणिज्य संघको अधिवेशन उद्घाटन गर्न कास्की पुगे। खतिवडाले त्यहाँ रहँदा निर्माणाधीन पोखरा रंगशालाको स्थलगत निरीक्षणसमेत गर्न भ्याए।
थाले घुमफिर
आर्थिक वर्ष २०७१/०७२ र २०७२/०७३ को बजेट ल्याएपछि तत्कालीन अर्थमन्त्री डा. रामशरण महत सत्ताबाट बाहिरिए। त्यसपछि दोहोर्याएर बजेट ल्याउन पाउने भाग्यमानी अर्थमन्त्री हुन् खतिवडा।
पहिलो बजेट निर्माण र त्यसको कार्यान्वयनको एक वर्ष खासै बाहिर ननिस्किएका खतिवडा चालु आर्थिक वर्षको बजेट निर्माणपछि भने सार्वजनिक कार्यक्रममा उपस्थिति जनाउन थालेका छन्।
अर्थमन्त्री खतिवडा रसुवामा निर्माण हुन लागेको एकीकृत जाँच चौकीको शिलान्यास गर्न रसुवागढी पुगे।

रसुवामा एकरात बसेका अर्थमन्त्री खतिवडाले स्थानीय व्यवसायी र राजनीतिक दलका कार्यकर्तासँग पनि छलफल गरेका थिए।
२ वटा बजेट बनाउँदा सुझाव संकलनका लागि विभिन्न क्षेत्रको सुझाव संकलनका लागि भन्दा बाहेक उनी एकपटक झापा गएका थिए। त्यहाँ जाँदा मेची पुलको निरीक्षणमा गएका बेला खतिवडा आफैँले खिचेको 'सेल्फी फोटो' सामाजिक सञ्चालमा छाएको थियो।

१८ महिनामा पहिलोपटक भन्सारको निरीक्षण
आफ्नो करिब डेढ वर्षे कार्यकालमा अर्थमन्त्री खतिवडा असोज २ गते विहीबार भन्सार विभागको त्रिपुरेश्वरमा नवनिर्मित भवनको उद्घाटन गर्न पुगे। खतिवडाले आफू 'डेस्क'कै काममा धेरै व्यस्त हुनुपरेकाले यो अवधिमा त्यहाँ पुग्न नभ्याएको उल्लेख गरे।
'डेस्कले मलाई यति धेरै व्यस्त बनायो कार्यालयबाट बाहिर निस्किनै नभ्याइने भैयो,' खतिवडाले आफ्नो मन्तव्य राख्ने क्रममा भने, 'भन्सार कार्यालयका कर्मचारी र मैले बराबर काम गर्छु कि जस्तो लाग्छ तै पनि 'पर्फर्मेन्स' सुधार गर्नुपर्नेछ। ढिलै भए पनि तपाईंहरुसँग भेट भयो, खुशी लाग्यो।'
खतिवडा असोज ७ गते विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको निरीक्षणमा पुगे।

भएका भन्सार कार्यालयमध्ये सबैभन्दा 'सेन्सेटिभ' मानिने यस कार्यालयमा करिब १० दिन अघि नै निरीक्षणमा जाने उनको तयारी भए पनि प्रधानमन्त्रीको 'अर्जेन्ट कल' पछि केही समय धकेलिएको थियो।
फाइदा के, बेफाइदा के?
अर्थ मन्त्रालयका कर्मचारीहरुको अनुभवमा खतिवडा जस्ता अर्थमन्त्री हुँदा कार्यालयमा धेरै समय दिन सक्छ। हरेक फाइल आफैँले विस्तृत अध्ययन गर्न सक्छ र निर्णय गराउन सक्छ। 'राजनीतिक कार्यक्रममा धेरै नअल्झिने मन्त्री हुँदा हरेक निर्णय छिटो हुन्छ, मन्त्रालयमै समय दिने हुँदा काम गर्न सहज हुन्छ,' अर्थका एक सहसचिवले भने।
राजनीतिक सम्बन्ध धेरै नहुँदा उनलाई भेट्न आउने मानिसहरु गुनासो सुनाउन नपाएको भन्दै असन्तुष्ट भएर फर्किने गरेका छन्। राजनीतिक पार्टीबाटै मन्त्री भएर पनि संभवत सबैभन्दा सानो सचिवालय राखेर काम गरिरहेका छन्। खतिवडाको सचिवालयमा तत्कालीन नेकपा एमाले झापा काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष तथा नेपाल कमर्स क्याम्पस मिनभवनका पूर्व स्ववियु सभापति तुलसीराम मैनाली र तत्कालीन् माओवादी निकट पत्रकार यमप्रसाद पौडेल छन्।
तर खतिवडा जस्ता अर्थमन्त्री हुँदा त्यसको राजनीतिक लाभ भने पार्टीले पाउन नसक्ने उनका आलोचकहरु बताउँछन्। 'अर्थमन्त्री भनेको पार्टीको दृष्टिकोण कार्यान्वयन गराउने सबैभन्दा महत्वपूर्ण पात्र हो, पार्टीले लिएका योजना तथा उद्देश्य कार्यान्वयन गर्ने दायित्व बोकेको व्यक्ति पार्टीसँगको सम्बन्धितभन्दा टाढा बस्नु राम्रो होइन,' पूर्वमन्त्रीसमेत रहेका नेकपाका एक नेताले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।