काठमाडौं- सरकारले मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता भएकामध्ये १५ हजार ९ सय ४१ करदाताको दर्ता खारेज गरेको छ। भ्याटमा दर्ता भएर पनि समयमा कर विवरण पेस नगर्ने त्यस्ता करदाताको दर्ता खारेजी गरिएको हो।
गत आर्थिक वर्षको आर्थिक ऐनमार्फत सरकारले भ्याट विवरण नबुझाउने करदाताले विवरण बुझाएर आफ्नो अवस्था अध्यावधिक गर्न चाहेमा छुट दिने योजना अघि सारेको थियो। तर, त्यस्तो छुट पनि उपयोग नगर्ने करिब १६ हजार करदातालाई दर्ता सूचीबाटै हटाइएको छ।
भ्याटमा विवरण नबुझाउने (नन-फाइलर) करदाताको संख्या वर्षेनी बढ्दै जान थालेपछि सरकारले त्यस्ता करदतालाई सूचीबाटै हटाएको हो। गत वर्षको आर्थिक ऐनमार्फत सरकारले भ्याटको विवरण नबुझाउनेलाई बाध्यकरीरुपमा हटाउने व्यवस्था ल्याएको थियो। यसवर्ष पनि त्यसैलाई निरन्तरता दिइएको छ।
यसैगरी सरकारले दिएको करछुटको सुविधा प्रयोग गरी ३५ हजार ३ सय करदाताले आफ्नो विवरण अध्यावधिक गरेका छन्। सरकारले लामो समयदेखि कर बक्यौता राखी विवरण अध्यावधिक नगरेका करदातालाई छुट सुविधा दिएर विवरण देखाउन अवसर दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।