काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडाले राजस्व प्रशासनमा स्वच्छता, पारदर्शीता र कुशलता कायम गरी कार्यसम्पादन गर्न भन्सारका कर्मचारीलाई निर्देशन दिएका छन्।
आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको स्थलगत निरीक्षण गर्दै अर्थमन्त्री डा खतिवडाले अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाउने गरी व्यवसायीमैत्री रुपमा काम गर्न कर्मचारीलाई निर्देशन दिएका हुन्।
उनले विमानस्थल विदेशी पाहुनाको लागि पहिलो प्रभाव पर्ने स्थल भएकाले 'नेपाल भ्रमण वर्ष २०२०' को प्रभावकारी रुपमा तयारी गर्न नागरिक उडड्यन विभागसँग समेत पयाप्त सहकार्य गर्न निर्देशन दिए। विमानस्थलमा अन्य निकायको समेत समन्वय हुने भएकाले प्रभावकारी, छिटोछरितो र सहजरुपमा सेवा दिनुपर्नेमा सम्बन्धित सबै निकायलाई निर्देशन दिए।
मन्त्री खतिवडाले विमानस्थलमा भौतिक पूर्वाधारको समस्यालाई नागरिक उडड्यन प्राधिकरणसँग सहकार्य गरेर व्यवस्थापन गरिने स्पष्ट पारे। उनले भन्सारमा रहेका मालवस्तु तथा सामानहरुको समयमै निकासी तथा लिलामी गरी काम नलाग्नेलाई स्टलमा नराखी खाली गर्न समेत भने। उनले तोकिएको राजस्व पूरा गर्न सबै प्रकारका प्रयासहरु गर्ने, आवश्यक जनशक्तिको व्यवस्थापनमा अर्थ मन्त्रालय र भन्सार विभागले ध्यान दिनसमेत निर्देशन दिए।
निर्यात हुने मालवस्तुलाई प्राथमिकता दिनुपर्ने भन्दै जाँचपास प्रक्रियालाई सरल, छिटो र चुस्तदुरुस्त बनाई विवेकीय एवम् नीतिगत रुपमा स्वच्छ सेवा दिन सुरक्षा निकाय, अध्यागमन, प्राधिकरण भन्सारलगायतको उत्तिकै सहकार्य तथा सहयोग आवश्यक पर्ने उनको भनाइ छ।
स्थलगत निरीक्षणमा भन्सार विभागका महानिर्देशक सुमन दाहाल, अर्थ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख झक्कप्रसाद आचार्य, त्रिविका सुरक्षा प्रमुखलगायतको सहभागिता थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।