काठमाडौं- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७६/७७ को पहिलो महिना अर्थात् साउन मसान्तसम्मको देशको आर्थिक तथा वित्तीय स्थीति सार्वजनिक गरेको छ।
राष्ट्र बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा साउन महिनामा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ६ दशमलव ९५ प्रतिशत रहेको छ।
आयात ११ दशमलव ५ प्रतिशतले घटेको छ भने निर्यातको वृद्धिदर २७ दशमव ७ प्रतिशत रहेको छ।
विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २ प्रतिशत र अमेरिकी डलरमा शून्य दशमलव ७ प्रतिशतले बढेको छ।
शोधनान्तर स्थिति ६ अर्ब ५ करोड रुपैयाँ बराबरले बचतमा रहेको छ भने कुल विदेशी विनिमय सञ्चिति १० खर्ब ६४ अर्ब ६४ करोड कायम भएको छ।
उक्त सञ्चिति ८ दशमलव ८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ।
साउन महिनामा बैंकिङ्ग कारोबारमा आधारित संघीय सरकारको खर्च २ अर्ब ६२ करोड र राजस्व संकलन ७७ अर्ब ५३ करोड रुपैयाँ रहेको छ।
चालु आर्थिक वर्षको पहिलो महिनामा विस्तृत मुद्राप्रदाय शून्य दशमलव ४ प्रतिशतले घटेको छ।
वार्षिक बिन्दुगत आधारमा विस्तृत मुद्राप्रदाय १६ दशमलव ३ प्रतिशतले बढेको छ।
बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन शून्य दशमलव ४ प्रतिशतले घटेको र निजी क्षेत्रतर्फको कर्जा शून्य दशमलव ५ प्रतिशतले बढेको छ।
वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १७ दशमलव ९ प्रतिशत र कर्जाको वृद्धिदर १९ दशलमव २ प्रतिशत रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।