काठमाडौं- चालु आर्थिक वर्षको पहिलो महिना साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि ६ दशमलव ९५ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४ दशमलव १९ प्रतिशत रहेको थियो। अघिल्लो वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा मुद्रास्फीति २ दशमलव ७६ प्रतिशतले बढी हो।
नेपाल राष्ट्र बैंकका अनुसार साउन महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति (मूल्यवृद्धि) ८ दशमलव ०२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६ दशमलव १२ प्रतिशत रहेको छ।
सरकारले चालु आर्थिक वर्षमा मुद्रास्फीति ६ प्रतिशतभन्दा माथि जान नदिने घोषणा गरेको भए पनि आर्थिक वर्षको पहिलो महिनामै मुद्रास्फीति सरकारको लक्ष्यभन्दा प्रतिकुल देखिएको छ।
साउन महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मुख्यतः तरकारी, फलफूल, मसला र मासु तथा माछा उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ। त्यसैगरी, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत मुख्यतः घरायसी उपयोगिताका वस्तु तथा सेवा, लुगा तथा जुत्ता र शिक्षा उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ।
काठमाडौं उपत्यकामा ८ दशमलव ६३ प्रतिशत, तराईमा ६ दशमलव ४६ प्रतिशत, पहाडमा ५ दशमलव ९२ प्रतिशत र हिमालमा ५ दशमलव ५७ प्रतिशत मुद्रास्फीति रहेको छ।
२०७५ साउनमा यी क्षेत्रहरुमा क्रमशः ३ दशमलव ४९ प्रतिशत, ४ दशमलव १४ प्रतिशत, ५ दशमलव २६ प्रतिशत र २ दशमलव ७४ प्रतिशत मुद्रास्फीति रहेको थियो।
साउनमा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६ दशमलव ९५ प्रतिशत रहेकोमा भारतमा अगस्ट महिनामा यस्तो मुद्रास्फीति ३ दशमलव २१ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा नेपालको मुद्रास्फीति ४ दशमलव १९ प्रतिशत र भारतको ३ दशमलव ६९ प्रतिशत रहेको थियो।
२०७६ साउनमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ७ दशमलव ०२ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा उक्त मुद्रास्फीति ६ दशमलव ४० प्रतिशत रहेको थियो।
समीक्षा महिनामा प्राथमिक वस्तु, इन्धन तथा ऊर्जा र उत्पादित वस्तु समूहको थोक मुद्रास्फीति क्रमशः १३ दशमलव १० प्रतिशत, ६ दशमलव ५९ प्रतिशत र ३ दशमलव ४५ प्रतिशत रहेको छ। प्राथमिक खाद्य वस्तु, इन्धन, लत्ताकपडा, यातायात उपकरण तथा पार्ट्स उपसमूहको थोक मूल्यवृद्धि उच्च रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।