काठमाडौं– देशको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले संस्था, कम्पनी, फर्म वा व्यक्तिले बुझाउनुपर्ने बक्यौता मात्रै झन्डै २ अर्ब ११ करोड पुगेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार साउन महिनासम्मको बक्यौता २ अर्ब १० करोड ८८ लाख ६३ हजार ४ सय ४ रुपैयाँ पुगेको हो। यो रकम सञ्चालनमा रहेका तथा नरहेका ती संस्था र कम्पनीको हो। यो रकममा पछिल्लो समयको विलम्बबापतको जरिवाना शुल्क भने जोडिएको छैन।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकृत त्रिलोचन पौडेलका अनुसार सञ्चालनमा रहेका अन्तर्राष्ट्रिय उडान भर्ने एयरलाइन्स कम्पनीको साउन महिनासम्मको बक्यौता रकम मात्रै ८२ करोड ७ लाख ६५ हजार ५ सय १२ रुपैयाँ रहेको छ। यसैगरी सञ्चालनमा रहेको आन्तरिकतर्फ उडान भर्ने एयरलाइन्स कम्पनीहरुको बक्यौता भने ४ करोड ४४ लाख २ हजार १ सय १ रुपैयाँ रहेको छ।
सञ्चालनमा नरहेका आन्तरिकतर्फ उडान सेवा दिएका एयरलाइन्स कम्पनीको भने ८ करोड ४३ लाख ७५ हजार १ सय ८४ रुपैयाँ छ भने सञ्चालनमै नरहेका आन्तर्राष्ट्रिय हवाई सेवा प्रदान गर्ने एयरलाइन्सको बक्यौता ४ करोड ८३ लाख ७२ हजार रुपैयाँभन्दा बढी छ।
यसैगरी विभिन्न नामका सरकारी कार्यालयको बक्यौता रकम पनि ५६ करोड १५ लाख ५५ हजार रुपैयाँ रहेको छ।
विमानस्थलभित्रै विभिन्न सेवा प्रदान गर्दै आएका तथा व्यापार व्यवसाय गर्दै आएका कम्पनीहरुको पनि ५१ करोड ८७ लाख ८९ हजार रुपैयाँ र सञ्चालनमा नरहेका कम्पनीहरुको नाममा ३ करोड ६ लाख २ हजार रुपैयाँ बक्यौता रहेको छ।
सबै शीर्षकमा गरी साउन मसान्तसम्मको बक्यौता रकम २ अर्ब १० करोड ८८ लाख ६३ हजार ४ सय ४ रुपैयाँ उठ्न बाँकी रहेको सूचना अधिकृत पौडेलले जानकारी दिए।
प्राधिकरणले एयर एसियाले उडान बन्द गरे पनि बाँकी बक्यौता रकमलाई भने सञ्चालन एयरलाइन्सकै सूचीमा राखेको छ। एयर एसियाले गत असोजदेखि नेपालमा उडान बन्द गरेको थियो। साथै भारतीय जेट एयरवेजलाई पनि सञ्चालनकै सूचीमा राखिएको छ। तर यो एयर कम्पनीले आर्थिक संकटका कारण नेपालमा अप्रिलदेखि उडान बन्द गरिसकेको छ।
रकम असुलीका लागि सार्वजनिक सूचना
प्राधिकरणले लामो समयदेखि बक्यौता नतिरेको र बन्द भएका कम्पनी तथा एयरलाइन्सको बाँकी बक्यौताका लागि आज सार्वजनिक सूचना प्रकाशन गरेको छ। प्राधिकरणले ३० दिनको सूचना जारी गर्दै बाँकी रकम तिर्न आउन भनेको छ। तोकिएको समयभित्र रकम भुक्तानी गर्दै प्राधिकरणलाई सहयोग गर्न प्राधिकरणले सूचना जारी गरेको पौडेलले जानकारी दिए।
तोकिएको समयमा बक्यौता भुक्तानी नभएको अवस्थमा भने कानुनी उपचार खोजिने प्राधिकरणको सूचनामा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।