काठमाडौं- अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको प्रगतिबारे प्रत्येक हप्ता समीक्षा गर्ने भएको छ। आइतबार बसेको सिनिएर म्यानेजमेन्ट टिम मिटिङ (एसएमटी-बैठक) ले प्रत्येक साता बजेट कार्यान्वयनको प्रगतिबारे समीक्षा गर्ने निर्णय गरेको हो।
एसमटी बैठकपछि गरिएको माइन्युटमा बजेट कार्यान्वयनको प्रगति समीक्षाका लागि सबै महाशाखालाई जिम्मेवार बनाइएको छ। त्यसको समन्वय भने योजना अनुगमन तथा मूल्यांकन महाशाखाले गर्ने माइन्युटमा उल्लेख छ।
बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रत्येक साता कार्ययोजनाअनुसार प्रगति भए/नभएको मूल्यांकन गर्न लागिएको अर्थ मन्त्रालयका एक सहसचिवले जानकारी दिए।
अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेट कार्यान्वयन प्रभावकारी बनाउन बजेट कार्यान्वयन कार्ययोजना तयार गरेको छ। चालु आर्थिक वर्षको बजेट र सरकारको नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि कार्ययोजना बनाएर लागू गरिएको हो।
अर्थमन्त्री डा युवराज खतिवडाले बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रत्येक मन्त्रालयका सचिव, विभागीय प्रमुख तथा केही आयोजना प्रमुखसँग छलफलसमेत गरिसकेका छन्। 'हामीले कार्ययोजनामा कुन कार्यक्रम कहिले गर्ने भनेर समय तालिक तोकेका छौं, त्यसैलाई पूर्ण कार्यान्वयन गर्न सबैलाई जिम्मेवार बनाउने गरी यो निर्णय गरिएको हो,' मन्त्रालयका ती सहसचिवले भने।
अर्थ मन्त्रालयमा सामान्यता प्रत्येक आइतबार एसएमटी बैठक बस्ने चलन छ। बैठकमा नीतिगतसँगै कतिपय व्यावहारिक पक्षमा पनि छलफल हुने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।