काठमाडौं- सरकारले बाहिरी चक्रपथ बनाउने जिम्मा चिनियाँ कम्पनीलाई दिएको छ। लगानी बोर्डको सोबार बसेको बैठकले प्रस्तावित बाहिरी चक्रपथ निर्माणका लागि प्रस्ताव गर्ने कम्पनीहरुमध्येबाट चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीलाई सर्ट लिस्ट गरेको हो।
बोर्डको बैठकले प्रस्तावित काठमाडौं बाहिरी चक्रपथ परियोजना सार्वजनिक-निजी साझेदारीमा विकास गर्न आएको प्रस्ताव मध्येबाट चाइना कम्युनिकेसन कन्सट्रक्सन कम्पनीलाई सर्ट लिस्ट गर्दै विस्तृत विवरण माग्ने भएको छ।
सरकारले उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर तीनै जिल्ला जोड्ने गरी बनाउन लागेको बाहिरी चक्रपथ निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)को काम सकिसकेको छ।
बाहिरी चक्रपथले उपत्यकाका ३ जिल्लाका मुख्य ३० स्थानलाई समेट्ने छ।
जसअन्तर्गत ललितपुर, भक्तपुर र काठमाडौंको बुङमति, ठेचो, धापाखेल, हरिसिद्धि, विसनडोल, नुगु, तीनकुने, अरनिको राजमार्ग, सिर्जना नगर, जगाति, याङडोल, सुडाल, खरिपाटी, पकाउनेपाटी, दुवाकोट, ददिकोट, थलिगाँछी, नयाँपाटी, गोकर्णेश्वर, चुनिखेल, चपली, टोखा, टोखा सरसस्वती, नेपालटार, सीतापाइला, स्युचाटार, पूरानो नैकाप, बलम्बु, गाम्चा र चोभार(खोलाको सीमाना)लाई आपसमा जोड्नेछ।
यसअघि ७२ किमीको लम्बाइको हुने गरी प्रस्ताव गरिएको बाहिरी चक्रपथ अब पहिलेभन्दा केही परिवर्तन हनुेछ।
पहिले परिरकल्पना गरिएभन्दा अब बन्ने चक्रपथ केही छोटो दुरीको हुनेछ। यसअघि काठमाडौंमा ३५.०८ किमी, ललितपुरमा १५.८० किमी र भक्तपुरमा २१.०५ किमी रहने गरी आयोजना प्रस्ताव गरिएपनि अब विभिन्न क्षेत्रलाई कटाएर चक्रपथ अझ वैज्ञानिक तवरले बनाउने सोचमा प्राधिकरण छ।
बाहिरी चक्रपथ आठ लेनको हुनेछ। सडकका दुवै भागमा साइकल ट्रयाक रहनेछ भने ग्रीनरी बेल्ट सहित सडक किनारामा फुटपाथ पनि विकास गरिनेछ। सडक, फुटपाथ र साइकल ट्रयाकका लागि ५० मिटर फराकिलो जमिन प्रयोग हुनेछ।
जग्गा विकास आयोजनाका शाखाका अनुसार चक्रपथको दायाँबायाँ २५०/२५० मिटर जग्गा एकीकरण गरिनेछ।
यसलाई व्यवस्थित वस्तीका रुपमा विकास गर्न सडक आसपासका ५ सय मिटर क्षेत्रफलमा विभिन्न पुर्वाधार आयोजनाले बनाइदिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।