काठमाडौं- संघीय सरकारले साविकका गाउँ विकास समिति र नगरपालिकाले सुरु गरेका विकास आयोजनालाई स्थानीय र प्रदेश तहले प्राथमिकता दिएर अघि बढाउनुपर्ने बताएको छ।
संघीय सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले प्रदेश र स्थानीय तह र प्रदेशले त्यस्ता आयोजनालाई प्राथमिकता नदिएको भन्दै राज्यको स्रोत खर्च भइसकेका आयोजनालाई त्यसै छाड्न नहुने बताए।
'हिजो जिल्ला विकास समिति, गाउँ विकास समिति र नगरपालिकाले सुरु गरेका आयोजना अब स्थानीय र प्रदेशले आफ्ना प्राथमिकताअनुसार अघि बढाउनुपर्छ, ती आयोजना त्यसै छाड्न मिल्दैन,' उनले भने, 'राज्यले कुनै न कुनैरुपमा लगानी गरिसकेकोछ, अब फेरि नयाँ कार्यक्रम मात्रै अघि बढाउने भन्ने कुरा हुँदैन।'
अर्थमन्त्री खतिवडाले संघीय सरकारले माग गरेअनुसार प्रदेश नं ५ बाहेक अरु कुनै पनि प्रदेशले अधुरा आयोजनाको विवरण नदिएको पनि बताए। 'अहिले प्रदेश नं ५ बाट अधुरा आयोजनाको सूची प्राप्त भएको छ, अरु प्रदेशले त्यस्ता आयोजनाको विवरण पठाएका छैनन्,' अर्थमन्त्री खतिवडाले भने, 'हामीले त्यस्ता अधुरा आयोजनाको पनि प्राथमिकता तोकेर अघि बढ्नुपर्छ, हिजो स्रोत खर्च भैसकेको छ, अब त्यसै छाड्न मिल्दैन।'
राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा अर्थमन्त्री खतिवडाले स्रोत जम्मा गरेर राख्ने र खर्च गर्न नसक्ने अवस्था आउन नहुने टिप्पणी गरे। सातै प्रदेशका मुख्यमन्त्री तथा विभिन्न महानगरपालिकाका मेयरसमेत सम्मिलित बैठकमा अर्थमन्त्री खतिवडाले स्रोतको उपयोग गरेर अघि बढ्न आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।