काठमाडौं- राष्ट्रिय ध्वजाबाहक वायुसेवा प्रदायक नेपाल एयरलाइन्सको खस्कँदो छवि सुधार गर्न 'सफ्ट थेरापी' हुने भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले शनिबार पत्रकारसँगको भेटघाटमा नेपाल एयरलाइन्सको सुधारका लागि ‘सफ्ट थेरापी’सुरु गर्ने बताएका हुन्।
‘एयरलाइन्सले अहिले लिएको गति अत्यन्तै नाजुक छ,’ मन्त्री भट्टराईले भने, ‘सरकारले त्यसलाई टुलुटुलु हेरेर बस्दैन। सुधारका लागि क्रमशः काम हुँदैछ। अबको एक वर्षभित्र वाह! नेपाल एयरलाइन्स भन्ने अवस्था हुने गरी सरकारले काम गर्छ।’
नेपाल वायुसेवा निगम सुधारका लागि गठित कार्यदलले दिएको निगम सुधार सुझावलाई ग्रहण गर्दै कार्यान्वयनमा लैजाने उनको भनाइ छ।
‘कार्यदलले तत्कालको व्यवस्थापबाट निगम सुधार हुने अवस्था नभएको भन्दै व्यवस्थापनमा सुधार गर्ने सुझाव दिएको छ,’ मन्त्री योगेशले भने, ‘कार्यदलको सुझाव मनन गर्दै आवश्यक कदम अगाडि बढाइन्छ। सुधारको काम थाल्दै गर्दा मन्त्रालयले निगमको सफ्ट थेरापी शैली अपनाउँछ।’
निगमले पछिल्लो समयमा जहाज खरिदमा लिएको ऋणको किस्ता समेत तिर्न नसकेको अवस्थमा विस्तारै क्षमता बढाएर नाफामा लैजाने गरी काम हुने उनको भनाइ छ।
'लक्ष्य अनुरुप काम गर्न नसक्नेले बाटो खुल्ला गरिदिनु पर्छ'
सोही पत्रकार सम्मेलनमा कार्यक्रममा मन्त्री योगेश भट्टराई सरकारको लक्ष्यअनुरुप र कार्यतालिकाअनुसार काम गर्न नसक्नेले पनि पद ओगटेर नबस्न समेत आग्रह गरेका थिए।
मन्त्री भट्टराईले भिजिट नेपालका राष्ट्रिय संयोजक सुरज वैद्यप्रति लक्षित गर्दै यस्तो अभिव्यक्ति दिएका हुन्।
सरकारले भिजिट नेपाल वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य सहित काम गरिरहेको छ,’ मन्त्री भट्टराईले भने, ‘सरकारले आवश्यक बजेट पनि दिएको छ। तर, सोच अनुरुपमा काम भएको छैन। मैले मन्त्री पदको जिम्मेवारी लिएपछि केही काम त भएको छ। तर,आवश्यक रुपमा हुन सकेको छैनन्।’
सरकारी लक्ष्य अनुरुप र कार्य तालिका अनुसार काम गर्न नसक्नेले बेलैमा पद छोडेर सहयोग समेत गर्नु पर्ने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।