काठमाडौं- सिमेन्ट उत्पादक संघमा गत बिहीबार नयाँ नेतृत्व चुनिएपछि संघसँग असन्तुष्ट केही सिमेन्ट उद्योगी व्यवसायीहरु संघबाट बाहिरिएका छन्। सिमेन्ट उत्पादकहरुको छाता संगठनबाट दुई दर्जन व्यवसायीहरु बाहिरिएका हुन्।
संघले सिमेन्ट उद्योगीहरुका कुरा नसुनेको र संस्थाका सदस्यहरुको हितमा काम नगरेपछि आफूहरु बाहिरिएको अर्घाखाँची सिमेन्टका सञ्चालक तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले बताए। ‘सरकारले परिमार्जन गरेको सिमेन्टको गुणस्तर सम्बन्धी मापदण्ड परिमार्जन गर्नुपर्छ भन्ने हाम्रो भनाइ थियो। तर नयाँ नेतृत्वले त्यसैलाई मानिदिनुभयो। जबकि त्यो हाम्रो संस्थाले गरेको निर्णयविपरीत हो,’ संघ टुक्रनुको कारण सुनाउँदै मुरारकाले भने।
सिमेन्टको गुणस्तर सम्बन्धी मापदण्ड प्रमुख कारण
सिमेन्टमा म्याग्नेसियम अक्साइट (एमजिओ) को मात्रा ६ प्रतिशत हुनुपर्ने भन्दै सिमेन्ट उत्पादक संघको सञ्चालक समिति बैठकमा छलफलपछि सहमति भए पनि ध्रुवराज थापा नेतृत्वको नयाँ कार्यसमितिले ५ प्रतिशतलाई स्वीकारेपछि संघमा दरार आएको हो। ‘एमजिओ ६ प्रतिशत भनेर त्यसै भनिएको होइन, त्यस विषयमा अध्ययन अनुसन्धान भएका छन् र अधिकांश मुलुकको मापदण्ड त्यही छ। तर हामीकहाँ ५ राख्नुपर्ने कारण के हो? त्यो सम्बन्धी अध्ययन नै नगरी ५ प्रतिशत भनियो,’ मुरारकाले भने।
नेपाल सिमेन्टमा आत्मनिर्भर भइसकेको छ भने यो क्षेत्रले भारतमा निर्यात बजार खोज्नुपर्ने अवस्था पनि आइसकेको छ। ‘हामीले भारतमा निर्यात गर्ने हो। एमजिओ कम हुँदा हामी उत्पादन नै गर्न नसक्ने र उद्योग नै बन्द हुने भन्ने त होइन। तर लागत बढ्छ र हामी भारतीय सिमेन्टको मूल्यसँग प्रतिस्पर्धा गर्न सक्दैनौं,’ मुरारका भन्छन्।
विश्वका अधिकांश मुलुकमा सिमेन्टमा एमजिओको प्रतिशत औसत ६ प्रतिशत नै कायम गरिएको उनले बताए। ‘विश्वको आधा सिमेन्ट उत्पादन गर्ने चीनले ६ प्रतिशतलाई नै मान्यता दिएको छ। त्यसैगरी भारत, अमेरिका, युरोपमा ६ प्रतिशत नै छ। भारतसँग त हाम्रो हावापानी मिल्छ। निर्माण प्रक्रिया पनि मिल्छ,’ त्यसकारण हामीले ५ प्रतिशत एमजिओलाई स्वीकार्न सकेनौं,’ उनले भने।
विकल्प सहितको तयारी
संघबाट छुट्टिएको खेमाले विकल्पको तयारी पनि अगाडि बढाइसकेको छ। यसअघि नै दर्ता भइसकेको नेपाल क्लिंकर तथा सिमेन्ट उत्पादक संघमा आबद्ध भएर आफूहरु अगाडि बढ्ने उनीहरुको भनाइ छ। 'केही साथीहरु प्रतिस्पर्धा स्वीकार नगर्ने र एकअर्कालाई सिध्याउने रणनीतिमा लागेकाले हामी अलग भयौं,' मुरारकाले भने।
‘त्यो संघले आफ्नो उद्देश्य अनुसार काम गर्न सकेन। हाम्रो उद्देश्य पूरा भएन। एउटा सदस्यका कारण अर्को सदस्यलाई असहज वा सहज हुन्छ भने हामी किन त्यसतर्फ नजाने? मुरारका प्रश्न गर्छन्।
हाल केही उद्योगहरुले सिमेन्ट उत्पादक संघ र क्लिंकर तथा सिमेन्ट उत्पादक संघ दुवै संस्थामा सदस्य छन्। मुरारका आफै पनि दुवै संस्थामा आबद्ध थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।