काठमाडौं– नेपाल एयरलाइन्सले आन्तरिक उडानमा प्रयोग गर्दै आएको चिनियाँ वाई–१२ जहाजले ग्राउन्डेड भएको ९ दिनपछि आजदेखि उडान सुरु गरेको छ। चालकदलका सदस्य र यात्रुले प्रयोग गर्ने अक्सिजन अभावले जहाज सेप्टेम्बर ११ देखि ग्राउन्डेड थियो।
निगमसँग ४ वटा वाई–१२ जहाज भए पनि एउटा मात्रै उडान भइरहेको थियो।
निगमले दाङमा दैनिक २ वटा उडान गरिरहेको अवस्थामा इन्जिनियरिङ विभागको लापरबाही र चीनबाट समान ल्याउन ढिला हुँदा जहाज ग्राउन्डेड भएको थियो।
एक पटक प्रयोगमा ल्याएको अक्सिजन एक वर्षका लागि काम लाग्छ। तर, निगम व्यवस्थापनले यो समयबाट अक्सिजनको म्याद सकिन्छ भने थाहा हुँदाहुँदै पनि समयमै तयारी नगर्दा जहाज नै ग्राउन्डेड गर्नुपरेको निगम स्रोतले बतायो।
जहाज उडान नै नगरी मासिक ७ लाख
नेपाल एयरलाइन्सको व्यवस्थापनले जहाज नै उडान नगर्ने एक पाइलटलाई मासिक कर कटाएर ७ लाख रुपैयाँ तलब खुवाउँदै आएको छ। गत जनवरीमा वाई–१२ जहाज उडानका लागि भन्दै करारमा नियुक्ति भएका पाइलट केबी लिम्बुले जुलाई ३१ मा पाइलट लाइसेन्स लिए पनि आजसम्म जहाज उडाएका छैनन्।
तर, उनीसँगै प्रवेश गरेको फिजियोनाथ नेपालीले भने १ सय घन्टा उडान गरी वाई–१२ को आइपी पाइलट (प्रशिक्षक पाइलट) को लाइसेन्स लिने तयारीमा छन्।
वाई–१२ का आइपी पाइलट ए३३० को तालिममा
नेपाल एयरलाइन्सको वाई–१२ जहाजका लागि एक मात्रै आइपी पाइलट आङनुरी शेर्पा पनि ए३३० को पाइलट तालिमका लागि अमेरिका गएका छन्। आफ्नै खर्चमा ए३३० को पाइलट तालिममा गएसँगै केबी लिम्बुको आइपी आवर (प्रशिक्षकसँग उडान गर्नुपर्ने) ५० घन्टाको उडान रोकिएको छ।
आङनुरीले सँगै पाइलट लाइसेन्स लिएका नेपालीलाई आइपी उडान गराए पनि लिम्बुको भने गराएका थिएनन्। जसका कारण पनि ४ वटा वाई १२ जहाज उडानका लागि २ जना मात्रै पाइलट छन्। सिनियर पाइलट सञ्जय वादे पनि बिरामीका कारण उडानमा फर्कन नसक्दा वाई–१२ जहाज उडानमा पाइलट अभाव भएको छ।
चिनियाँ जहाज नेपाल एयरलाइन्सको सेतो हात्ती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले गठन गरेको निगम सुधार सुझाव कार्यदलले समेत नेपाल एयरलाइन्सले आन्तरिक उडानमा प्रयोग गरिरहेको २ वटा एमए ६० र ४ वटा वाई–१२ जहाज सेतो हात्ती भएको ठहर गरेको छ।
यी विमान उत्पादनको तर्फबाट हुने आफ्टर सेल्स सपोर्टको अभाव, स्पेयर पार्टसको मूल्य अत्यधिक महँगो, बिमा तथा पाइलटको अभावका कारण चिनियाँ जहाज निगमलाई निल्नुन ओकल्नु भएको कार्यदलले मन्त्री भट्टराईलाई बुझाएको रिपोर्टमा उल्लेख छ।
चिनियाँ ६ वटा जहाजबाट मात्रै निगमले दुई आर्थिक वर्षमा ९१ करोडभन्दा बढी अपरेसन घाटा सहनुपरेको हुँदा यी जहाजको उचित व्यवस्थापन हुनु आवश्यक रहेको सुझाव कार्यदलले दिएको थियो।
यसको विकल्पमा नेपालको भौगोलिक अवस्था हेरेर जहाज खरिद गरी आन्तरिक उडान गर्नु उचित हुने कार्यदलको ठहर छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।