काठमाडौं– सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरेको र समाचार कक्षबाटै पत्रकार पक्राउ गरिएको घटनाबारे नेपाल प्रहरीले स्पष्ट जवाफ दिनुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनाएको छ ।
रास्वपाका प्रवक्ता जगदीश खरेलले स्वतन्त्र पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफ्नो पार्टी दृढ रहेको बताउँदै प्रहरीको पछिल्लो गतिविधिबारे स्पष्टीकरण आवश्यक रहेको बताएका हुन् ।
उनका अनुसार सञ्चार गृहमा प्रहरी प्रवेश गरेको र पत्रकारलाई नियन्त्रणमा लिइएको विषय आफूहरूले सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट जानकारी पाएका हुन् ।
‘किन भयो ? के भयो ? भनेर नेपाल प्रहरीले जवाफ दिनुपर्छ,’ खरेलले भने ।
संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान सबै पक्षले गर्नुपर्ने उनको भनाइ छ । उनले पत्रकारितालाई निर्बाध रूपमा काम गर्न पाउने वातावरण हुनुपर्नेमा जोड दिए ।
शुक्रबार साँझ भएका घटनाबारे पार्टीभित्र छलफल गरेर आधिकारिक धारणा सार्वजनिक गरिने पनि खरेलले जानकारी दिए ।
‘सैद्धान्तिक रूपमा स्वतन्त्र पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रताको सम्मान र रक्षा हुनुपर्छ भन्नेमा स्पष्ट छ । यसलाई पार्टीले कसरी लिने भन्ने विषयमा हामी छलफल गर्छौं,’ उनले भने ।
नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी पक्राउ परेको र विभिन्न सञ्चारमाध्यमका कार्यालयमा प्रहरी पुगेको घटनापछि राजनीतिक दल तथा पत्रकारिता क्षेत्रबाट प्रतिक्रिया आइरहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।