काठमाडौं– विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारलाई पक्राउ गर्ने तथा नियन्त्रणमा लिने प्रयास विवादमा परेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हस्तक्षेप गरेको छ ।
प्रधानमन्त्री कार्यालयले पक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न र पत्रकारमाथिको धरपकड रोक्न प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई निर्देशन दिएको हो ।
शुक्रबार प्रहरी प्रधान कार्यालयको निर्देशन भन्दै विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रहरी पुगेपछि पत्रकारिता क्षेत्रबाट व्यापक विरोध भएको थियो । त्यसलगत्तै प्रधानमन्त्री कार्यालयले प्रहरी नेतृत्वलाई हस्तक्षेप गर्दै पक्राउ परेका पत्रकारलाई छाड्न निर्देशन दिएको हो ।
प्रधानमन्त्री कार्यालयको निर्देशनपछि नेपाल प्रहरीको साइबर ब्युरो र उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिइएका पत्रकारलाई आधा घण्टाभित्र रिहा गर्ने तयारी गरेको जनाइएको छ । पत्रकारलाई नियन्त्रणमा लिन विभिन्न सञ्चारगृह पुगेका प्रहरी टोलीसमेत फर्किने तयारीमा छन् ।
सञ्चारगृहभित्रै प्रवेश गरेर पत्रकारलाई पक्राउ गर्न खोजिएको घटनाप्रति पत्रकार, सञ्चारमाध्यम तथा विभिन्न राजनीतिक दलका नेताहरूले आपत्ति जनाएका छन् ।
उनीहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक अधिकारको सम्मान गर्दै पत्रकारले निर्भयपूर्वक काम गर्न पाउने वातावरण सुनिश्चित गर्न माग गरेका छन् ।
पत्रकार विश्वमणि सुवेदी पक्राउ परेपछि सुरु भएको विवादले शुक्रबार विभिन्न सञ्चारमाध्यमका कार्यालयसम्म प्रहरी परिचालन हुने अवस्था सिर्जना गरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।