काठमाडौं- सरकारले नजिकिँदै गरेको दसै तथा तिहारलाई दृष्टिगत गरी चिनी आयातमा लाग्दै आएको भन्सार शुल्कमा छुट दिने भएको छ।
बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजना गरिकएको पत्रकार सम्मेलनमा संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले चिनी आयातमा ५० प्रतिशत भन्सार महसुल छुट दिने निर्णय गरेको बताएका छन्। तर यस्तो छुट अधिकतम २० हजार मेट्रिक टनसम्म मात्र लागू हुने उनको भनाइ छ।
'२० हजार मेट्रिक टन चिनी ५० प्रतिशत भन्सार महसुल छुट गरी आयात गर्न स्वीकृति दिने निर्णय गरिएको छ,' पत्रकार सम्मेलन पछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड १० हजार र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलाई १०/१० हजार मेट्रिक टन गरी जम्मा २० हजार मेट्रिक टन चिनी आयातमा छुट दिन लागिएको हो।
हाल चिनी आयातमा ३० प्रतिशत भन्सार महसुल लाग्दै आएको छ। अब यो २० हजार मेट्रिक टनमा १५ प्रतिशत मात्र भन्सार महसुल लाग्ने भएको छ। योसँगै आयातित चिनीको मूल्य बजारमा केही सस्तो हुने भएको हो।
तर २० हजार टनभन्दा बढी चिनी आयात गर्नुपरेको अवस्थामा भने यो छुट लागू नहुने भएकाले लामो समयसम्म सस्तो नहुने देखिएको छ। यसका साथै स्वदेशी चिनीलाई पनि बजारमा प्रतिस्पर्धी बन्न चुनौती थपिने निश्चित छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।