काठमाडौं–पत्रकार विश्वमणि सुवेदी पक्राउ परेको घटनापछि नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेल र अध्यक्ष विन्दु लम्साल पनि साइबर ब्युरो पुगेका छन् ।
पौडेलले शुक्रबार सामाजिक सञ्जालमार्फत आफू र अध्यक्ष लम्साल साइबर ब्युरोमा उपस्थित भएको जानकारी दिएका हुन् ।
पत्रकार सुवेदीलाई पक्राउ गरिएको केही समयपछि आफूहरूलाई समेत ब्युरोमा बोलाइएको पौडेलले उल्लेख गरेका छन् ।
साइबर ब्युरोमा उपस्थित भएपछि पौडेलले पत्रकारितामा समाचार स्रोतको गोपनीयता संरक्षण गर्नु आधारभूत व्यावसायिक मान्यता भएको बताएका छन् ।
उनले स्रोतको सुरक्षाका लागि पत्रकारले कुनै पनि दबाब र धम्कीका सामु सम्झौता गर्न नसक्ने उल्लेख गरेका छन् ।
‘समाचारको स्रोत पत्रकारको मृत्युसँगै समाप्त हुन्छ। बुट र धम्की अनि हतकडीको डरले स्रोतमाथिको विश्वासघात गर्न सकिन्न। हाम्रो आचारसंहिता र विश्वव्यापी नैतिकताले पनि दिँदैन,’ पौडेलले फेसबुकमा लेखेका छन् ।
उनले आफूहरू व्यावसायिक धर्म र कर्मप्रति अविचलित रहँदै आइपर्ने कठिनाइको सामना गर्ने पनि बताएका छन् ।
नेपाल प्रेसमा प्रकाशित प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसँग सम्बन्धित समाचारबारे सोधपुछ गर्न साइबर ब्युरोको पत्रका आधारमा पत्रकार सुवेदीलाई पक्राउ गरिएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।