काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले पत्रकार पक्राउ र सञ्चारमाध्यमका कार्यालयमा सादा पोसाकका प्रहरी परिचालन गरिएको घटनाप्रति आपत्ति जनाएका छन् ।
नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई कार्यकक्षबाटै पक्राउ गरिएको तथा नयाँ पत्रिकालगायत सञ्चारमाध्यमका कार्यालयमा प्रहरी पुगेको घटनालाई उनले स्वतन्त्र पत्रकारितामाथिको हस्तक्षेप भन्दै आलोचना गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै दुलालले सरकार र सरकारी निकायका उच्च पदस्थ व्यक्तिका गतिविधि सार्वजनिक गरेकै कारण पत्रकारमाथि यस्तो व्यवहार गरिएको आरोप लगाएका छन् ।
‘स्वतन्त्र पत्रकारितामाथिको यो राज्य आतंक तत्काल बन्द गरियोस्,’ उनले लेखेका छन्, ‘हामी तत्काल गिरफ्तार पत्रकारको विनासर्त रिहाइको माग गर्दै सञ्चारमाध्यममाथिको राज्य आतंक बन्द गर्न खबरदारी गर्दछौँ ।’
उनले सरकारी रवैयाबाट विचलित नभई उच्च मनोबलका साथ स्वतन्त्र, निष्पक्ष र तथ्यपरक समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यमलाई आग्रहसमेत गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।