काठमाडौं– जग्गाको अंश बुझेको भरपाई लिखत पारित गराउन तीन लाख रुपैयाँ घुस लिएको आरोपमा ललितपुरको भूमि प्रशासन कार्यालयका कर्मचारी, वडाध्यक्ष र लेखापढी व्यवसायीसहित ११ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
आयोगले शुक्रबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गर्दै तीन लाख रुपैयाँ बिगो कायम गरी कानुनबमोजिम सजाय माग गरेको हो ।
आयोगका अनुसार लगनखेलस्थित भूमि प्रशासन कार्यालयका कर्मचारी र लेखापढी व्यवसायीले सेवाग्राहीसँग घुस मागेका थिए । अख्तियारको टोलीले तीन लाख रुपैयाँ लिइसकेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानमा पुनः नापीबाट अद्यावधिक भएको जग्गाको विवरण लुकाएर पुरानै अभिलेखका आधारमा गलत लिखत तयार गरी अंश बुझेको भरपाई पारित गराएको खुलेको आयोगको दाबी छ ।
मुद्दा दायर गरिएकामा भूमि प्रशासन कार्यालयका कर्मचारी, ललितपुर महानगरपालिका–४ का वडाध्यक्ष सन्तोष खड्का र लेखापढी व्यवसायी शैलेन्द्र रानामगर तथा समिर कटवालसमेत छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।