काठमाडौं- नेपाल वायुसेवा निगमले आफ्नो अपरेसन म्यानुअलविपरीत हवाई सुरक्षामा आँच आउने गरी एमए-६० का आइपी पाइलट गोपाल सिंह विष्टलाई ए-३२० जहाज उडानका लागि तालिममा पठाउन लागेको खुलासा भएको छ।
निगमका अपरेसन विभाग प्रमुख रवीन्द्र शेरचनले ५८ वर्ष पूरा गरी ५९ लागेका पाइलट विष्टलाई सिधै ए-३२० को पाइलट तालिममा पठाउन नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमतिका लागि पत्र काटेको खुल्न आएको छ।
.jpg)
शेरचनले २०१९ जुन १२ मा विष्ट र एमए-६० कै अर्का पाइलट प्रसन्न राणालाई ए-३२० जहाज उडानको तालिममा पठाउन भन्दै अनुमतिका लागि पत्र काटेका छन्।
निगमकै अपरेसन म्यानुअलको ५.१.९.७.२.२ मा कुनै एक प्रकारको जहाज उडान गरिरहेको पाइलटलाई फ्लिट परिवर्तन गरी अर्को फ्लिटको जहाजमा सिधै पाइलट तालिममा पठाउँदा ५५ वर्ष काटेको हुन नहुने उल्लेख गरिएको छ।

निगमले नै गत माघ २८ गते अनिवार्य अवकाश पाउने भन्दै विष्टलाई पत्र काटिसकेको छ। उक्त पत्रको आधारमा विष्ट अहिले ५९ वर्ष लागिसकेका छन्।
‘यस विभागमा रहेको तपाईंको वैयक्तिक अभिलेख अनुसार मिति २०७५/११/२७ मा तपाईंको उमेर ५८ वर्ष पूरा हुने भएकाले निगमको कर्मचारी सेवा सर्त सम्बन्धको विनियमावली २०६८ को विनियम ६३ अनुरुप मिति २०७५/११/२७ देखि उमेर हदका कारण निगमको सेवाबाट अनिवार्य अवकाश हुने व्यहोरा अग्रिम जानकारी गराइएको छ,' एयरलाइन्स व्यवस्थापनले विष्टलाई लेखेको पत्रमा भनिएको छ, 'आफ्नो बिदा तथा नोकरी विवरण सम्बन्धीको अद्यावधिक जानकारीका लागि अवकाश हुने मितिले एक हप्ता अगावै मानव संशाधन विभागको अभिलेख शाखामा सम्बन्धित फाँटवालाकहाँ सम्पर्क राख्न हुनसमेत अनुरोध छ।’
हेर्नुस् पत्र-

यसरी ५८ वर्ष पुगेको भनी अवकाशपत्र थमाउने निगम व्यवस्थापनले एमए-६० जहाजका एक मात्रै आइपी पाइलटलाई फ्लिट परिवर्तन गरी जेट जहाज ए-३२० को तालिममा पठाउन लागेको हो।
निगमको अपरेसन म्यानुअलको ५.१.९.७.२. मा पाइलटको अपग्रेड गर्न पाउने उल्लेख गरिएको छ। सोही अनुसार ७.२.१ मा सिधै पाइलट प्रवेशको विषयमा लेखिएको छ। जसको ‘ए’ मा जुनियर पाइलट पाइलटमा प्रवेश गर्दा पाइलट लाइसेन्स लिएको ४ वर्ष पूरा हुनुपर्ने र एक हजार घन्टा उडान गरेको हुनुपर्ने उल्लेख छ।
यसैगरी ‘बी’ मा पाइलट सिनियर पाइलट (नवौं तह) मा प्रवेश हकमा पाइलट लाइसेन्स लिएको १० वर्ष पूरा भएको हुनुपर्ने र ३ हजार घन्टा जहाज उडाएको हुनुपर्ने उल्लेख छ।
विष्टको हकमा ‘ए’ लागू हुनेछ। उनी २०१४ अगस्टमा निगमको खुल्ला प्रतिस्पर्धाबाट पाइलट सेवामा नवौं तहमा प्रवेश गरेका थिए।
विष्टलाई एमए-६० को पाइलटबाट ए-३२० को पाइलट तालिमका पठाउन भन्दै निगमले प्राधिकरणसँगको मागेको अनुमति भने स्वीकृत भने भइसकेको छैन। निगम व्यवस्थापनले सुरक्षामा आँच आउने गरी विष्टलाई सिधै पाइलट तालिममा पठाउन खोजेपछि निगमकै अन्य पाइलटहरुले प्राधिकरणका महानिर्देशक लगायतसँग छलफल गरेका थिए। यस विषयमा प्राधिकरणले दुवै पक्षलाई छलफलमा राखेर मात्रै तालिममा पठाउन दिने वा नदिने भन्ने विषयमा निर्णय गर्ने भएको छ।
सामान्यत: कुनै पनि जहाज उडानका लागि पाइलट तालिम गराउनुपर्दा पहिले को-पाइलट बाट नै गराइन्छ। तर, नयाँ फ्लिटको जहाज खरिद गरिएको अवस्थामा र पाइलटको चरम अभाव भएको अवस्थामा मात्रै अन्य फिल्ट पाइलटलाई सिधै आवश्यक परेको फिल्टको जहाजको पाइलट तालिममा पठाउन सकिन्छ। तर त्यसका लागि निगम नियमविपरीत जान पाउँदैन।
अहिले विष्टलाई एमए–६० को पाइलटबाट सिधै ए-३२० को पाइलट तालिममा पठाउन आवश्यक नरहेको निगम व्यवस्थापनकै कर्मचारीहरु बताउँछन्। किनभने निगमसँग रहेको ए-३२० जहाज उडानका लागि अहिले पाइलटको अभाव छैन। ए-३३० एयरबस उडानका लागि आवश्यक पाइलट संख्या १४ हो। तर, हाल २३ जना पाइलट छन्।
कारबाहीको भागीदार
विष्ट यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणको कारबाहीमा पर्दै आएका पाइलट हुन्।
विष्टलाई प्राधिकरणले २०१५ जनवरीमा हवाई उडान सुरक्षामा लापरबाही गरेको भन्दै लाइसेन्स रद्द गर्ने गरी चेतावनी दिएको थिए। त्यसपछि पनि प्राधिकरणको उडान सुरक्षा विभागले सन् २०१६ जुलाईमा हवाई सुरक्षा जोखिममा लापरबाही बढेको चेतावनी दिँदै जोखिम शून्य गराउनका लागि पत्र काटेको थियो।


यसरी बारम्बार हवाई सुरक्षामा खेलबाड गर्दै आएका पाइलट विष्टलाई निगम व्यवस्थापनले सिधै एमए-६० को पाइलटबाट ए-३२० को पाइलट तालिममा पठाउने तयारी गरेको हो।
दुई नागरिकता भएको शंका
विष्टको जन्ममिति पनि दुई वटा भएको शंका उत्पन्न भएको छ।
निगमले नै विष्टलाई ५८ वर्ष पुरा हुन लागेको भन्दै गत माघ २८ मा काटेको पत्र अनुसार उनको जन्म मिति २०१७ फागुन २७ गते हुन आउँछ। तर, विष्टको पाइलट लाइसेन्समा भने सन् १९६३ डिसेम्बर १२ छ। यो अनुसार उनको जन्म मिति २०२० मंसिर २६ गते हुन्छ।
सम्बन्धित
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।