काठमाडौं–नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको पहिलो खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई सुरुमै दबाबमा राखेको छ। पहिलो पावर प्ले नसकिँदै सुदूरपश्चिमले चार विकेट गुमाएको छ।
लुम्बिनीका बलरले सुदूरपश्चिमका ब्याटरलाई सस्तैमा पेभेलियन फर्काएका हुन्। शैफ जैबलाई १३ रनमा आउट गर्दै लुम्बिनीले चौथो सफलता हात पारेको छ।
लुम्बिनीका शेड्ली भान शाल्कविकले ५.४ ओभरमा जैबलाई शेर मल्लबाट क्याचआउट गराए।
त्यसअघि किशोर महतोले चौथो ओभरको दोस्रो बलमा आरिफ शेखलाई शून्य रनमा क्लिन बोल्ड गरेका थिए। सोही ओभरको चौथो बलमा उनले ब्रान्डन म्याकमुलेनलाई दुई रनमा बोल्ड गर्दै सुदूरपश्चिमलाई अर्को झट्का दिए।
त्यसअघि ओपनर विनोद भण्डारीलाई शेर मल्लले ३.२ ओभरमा एलबीडब्लु धरापमा पारेका थिए। विनोदले आठ बलमा नौ रन बनाएका थिए।
लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। पहिलो पावर प्लेमा चार विकेट गुमाएपछि सुदूरपश्चिम दबाबमा परेको छ।
गत संस्करणको फाइनलमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई ८५ रनमै अलआउट गर्दै ६ विकेटको जितसहित उपाधि जितेको थियो। तेस्रो संस्करणको पहिलो खेलमै सुदूरपश्चिमको ब्याटिङ धराशायी बनेपछि फेरि फाइनलको झल्को देखिएको छ। पहिलो पावर प्ले सकिँदा सुदूरले ४ विकेटको क्षतिमा ३८ रन बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।