काठमाडौं– त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलले नेपाल एयरलाइन्सलाई दुबई उडानमा रोक लगाइ विदेशी एयरलाइन्स ड्रागनलाई उडान अनुमति दिएको विषयमा छानबिन समिति गठन भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल एयरलाइन्सको जहाजलाई यात्रुसहित सामान लोड गरेर उड्न तयार भएको अवस्थामा किन रोकिएको भन्दै सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको छ।
मन्त्रालयले यस घटनाको ५ दिनभित्र छानबिन गर्न सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा चार सदस्यीय समिति बनाएको छ।
मन्त्रालयका अनुसार समितिलाई निगमको विमान ढिला उड्नुका कारण, दोषी पत्ता लाउनुपर्ने लगायतका जिम्मेवारी दिइएको छ। यस समितिमा गृह मन्त्रालयका तर्फबाट प्रहरी वरिष्ठ उपरीक्षकसहित निगमका निर्देशक राजेश मिश्र र प्राधिकरणका प्रबन्धक विक्रम गौतम सदस्य सचिव छन्।
मंगलबार बेलुका २ सय ७४ जना यात्रु बोकेर दुबई जान लागेको नेपाल एयरलाइन्सको जहाजलाई रोकेर विमानस्थल कार्यलयले विदेशी एयरलाइन्स कम्पनीलाई उडान गर्न दिएको थियो। बेलुका उडान गर्न नपाएको नेपाल एयरलाइन्सको जहाज बुधबार बिहान मात्रै दुबई उडेको थियो।
नेपाल एयरको दुबई उडानका लागि तयारी अवस्थामा रहेको जहाज रोकी विमानस्थलको टावर कन्ट्रोलले ड्रागनलाई उडान भर्न अनुमति दिएको हो।
नेपाल एयरलाइन्सले दुबई उडानका लागि बेलुका ६ बजेदेखि ह्यांगरबाट पार्किङमा जान समय मागेको थियो। नेपाल एयरका लागि अन्तिम समयमा यात्रु हाल्न समय दिइयो। तर, सबै यात्रु र सामान हाली जहाज उड्न ९ : ४५ बजे डोर क्लोज समेत गरेको थियो।
विमानस्थल कार्यालयले दुवै जहाजलाई एकैपटक उडान अनुमति दिन नसक्ने भन्दै नेपाल एयरलाइन्सको जहाज रोक लगाएको हो।
विमानस्थलले १० बजेपछि रन–वे पिचको काम सुरु हुने भन्दै राष्ट्रिय ध्वजावाहक विमान रोकी विदेशी एयरलाई उडान अनुमति दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।