काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको पहिलो खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सको ब्याटिङ ध्वस्त पारेको छ। पहिलो १० ओभर सकिँदा सुदूरपश्चिमले ५८ रन बनाउँदा सात विकेट गुमाएको छ।
२४ रन बनाउँदा पहिलो विकेट गुमाएको सुदूरपश्चिम त्यसपछि लगातार विकेट पतनको दबाबमा परेको हो।
लुम्बिनीका बलर शेर मल्लले घातक बलिङ गर्दै तीन विकेट लिएका छन्। उनले वेस्ट इन्डिजका रथरफोर्डलाई ९.२ ओभरमा आशिफ शेखबाट क्याचआउट गराए। त्यसको दुई बलपछि ९.४ ओभरमा स्कट कुग्लेजिनलाई एलबीडब्लु धरापमा पार्दै मल्लले व्यक्तिगत तेस्रो विकेट लिए।
यसअघि किशोर महतोले आरिफ शेख र ब्रान्डन म्याकमुलेनलाई सस्तैमा आउट गरेका थिए। शेर मल्लले ओपनर विनोद भण्डारीलाई पनि एलबीडब्लु धरापमा पारेका थिए।
त्यस्तै, ८.२ ओभरमा इशान पाण्डेलाई लुम्बिनीका तिलक भण्डारीले कप्तान रोहित पौडेलबाट क्याचआउट गराए।
लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। पहिलो खेलमै सुदूरपश्चिमको ब्याटिङ लाइनअप धराशायी बनेपछि गत संस्करणको फाइनलको झल्को देखिएको छ। दोस्रो संस्करणको फाइनलमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई ८५ रनमा अलआउट गर्दै उपाधि जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।