काठमाडौं– किशोर महतो र शेर मल्लको घातक बलिङसामु निरीह बनेको सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको पहिलो खेलमा साबिक विजेता लुम्बिनी लायन्सलाई ८८ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७ दशमलव २ ओभरमा ८७ रनमै अलआउट भयो। सुदूरपश्चिमका ब्याटरले लुम्बिनीका बलरको सामना गर्न नसक्दा टोलीले सुरुदेखि नै लगातार विकेट गुमाएको थियो।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए। उनले १६ बलमा दुई चौका प्रहार गरे। ओपनर शैफ जैबले १३ रन र अनिल खरेलले १३ रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
सुदूरपश्चिमले सुरुवाती पावर प्लेमै महत्त्वपूर्ण विकेट गुमाएपछि दबाबमा परेको थियो। लुम्बिनीका बलरले नियमित अन्तरालमा विकेट लिँदै विपक्षी टोलीलाई ठूलो योगफल बनाउन रोके।
लुम्बिनीका किशोर महतोले सर्वाधिक चार विकेट लिए। उनले चार ओभरमा २८ रन खर्चिए। शेर मल्लले तीन विकेट लिएर सुदूरपश्चिमको ब्याटिङ लाइनअप ध्वस्त पार्न महत्त्वपूर्ण भूमिका खेले।
त्यस्तै, शाड्ली भान शाल्कविक, कप्तान रोहितकुमार पौडेल र तिलक भण्डारीले समान एक विकेट लिए।
गत संस्करणको फाइनलमा पनि लुम्बिनीसँग पराजित भएको सुदूरपश्चिमले नयाँ सिजनको पहिलो खेलमै कमजोर ब्याटिङ प्रदर्शन गरेको छ। दोस्रो संस्करणको फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई ८५ रनमा समेट्दै ६ विकेटको जितसहित उपाधि जितेको थियो।
यसपटक पनि सुदूरपश्चिमलाई सस्तैमा समेटेपछि लुम्बिनीले जितका लागि ८८ रनको सामान्य लक्ष्य पाएको छ। साविक विजेता लुम्बिनीका लागि प्रतियोगिताको सुरुवात जितसहित गर्ने अवसर बनेको छ भने सुदूरपश्चिमलाई खेलमा फर्किन बलिङमा उत्कृष्ट प्रदर्शन आवश्यक पर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।