काठमाडौं- नेपाली कांग्रेसका सांसद जिपछिरिङ लामाको कम्पनी लामा कन्स्ट्रक्सनले सल्यानको वनगाडा कुपिण्डे नगरपालिका-१ बुंगाड खोलमा बनाएको पुल मापदण्ड विपरीत रहेको खुलासा भएको छ। निर्माणाधीन पूलमा मापदण्डभन्दा कमसल निर्माण सामग्री प्रयोग गरेको पाइएको हो।
३५ मिटरको लम्बाइको पुलका लागि आवश्यक मापदण्ड नपुर्याई ठेकेदार लामा कन्स्ट्रक्सनले पुल निर्माण गरेको हो। ७ करोड ५० लाख रुपैयाँको लागतमा बन्ने पुलको निर्माण अप्रिल १९ मा सकिने गरी सम्झौता भएको थियो। तर स्थानीय र वातावरणीय कारणले समायावधि थपिएको थियो।
निमार्णाधीन पुलमा प्रयोग हुनुपर्ने कंक्रिटको स्ट्रेन्थ न्यूनतम ४५ एमपिए हुनुपर्ने थियो। उक्त पुलको डिजाइन गर्ने क्रममा नै न्युनतम स्ट्रेन्थ कम गरिएको पाइएको हो। निर्माण सुरु भएको २८औं दिनमा पुलमा प्रयोग गरिएको सामग्रीको मूल्यांकन गर्दा औसत स्ट्रेन्थ २८ दशमलव ५ एमपिए मात्र रहेको पाइएको थियो।
त्यसअघि सातौँ दिनमा गरिएको परीक्षण पनि फेल भएको थियो। बालुवा,सिमेन्ट, गिटी, केमिकललगायतका सामग्रीबाट तयार भएको कंक्रिट ब्लकका आधारमा पुलमा प्रयोग भएका सामग्रीको गुणस्तर मापन गरिन्छ। गुणस्तर मापनको आधार एमपिए मान्ने प्रचलन छ।
पुल निर्माणमा खटिएका एक प्राविधिकका अनुसार कंक्रिट परीक्षण (कम्याक्ट टेस्ट) दुई पटक नै फेल भएको थियो। ‘आवश्यक मापदण्ड नपुगको जानकारी गराउँदा गराउँदै पनि निर्माण कार्य रोकिएन,' उनले थपे, 'लामा कन्स्ट्रक्सनले बनाएको अर्को पुलमा पनि कंक्रिट स्ट्रेन्थ पुगेको थिएन।'
नेपाल लाइभलाई प्राप्त अडियोमा प्राविधिकहरुले गुणस्तर नपुगेको भन्दै आपत्ति जनाएका छन्। आवश्यक मापदण्ड नपुगेको उक्त पुलको निर्माण कार्य रोक्न प्राविधिकहरुले सुझाव दिएका छन्। २८औं दिनमा गरिएको गुणस्तर परीक्षण रिपोर्टमा फेल भएपनि थप प्रक्रिया भने रोकिएको छैन। कंक्रिट टेस्टमा असफल भएको नतिजालाई वेवास्ता गर्दै अर्को चरणमा प्रवेश गरिएको थियो।
कंक्रिट टेस्ट असफल हुँदाहुँदै स्ट्रेचिङको काम सुरु गरिएको थियो। पुल निर्माणका प्राविधिक पक्षमा आवश्यक सल्लाहका लागि तोकिएका कन्स्ल्ट्यान्ट इन्जिनियरलाई मापदण्ड नपुगेको जानकारी भएपनि कार्य रोक्न आवश्यक ठानेनन्। निर्माण कार्य निरन्तरता दिएको लामा कन्स्ट्रक्सनले पुनः परीक्षण गर्न पनि चासो देखाएको छैन।
गुणस्तरहीन कार्य गरेको लामा कन्स्ट्रक्सनले परीक्षण गर्ने प्राविधिकलाई आर्थिक प्रलोभनमा पारी मूल्यांकनमा पास गराएको आरोप प्राविधिकहरुले नै लगाएका छन्। साइटमा कम्पनीका डिसिएम (डेपुटी कन्ट्याक्ट म्यानेजर) बसन्त घिमिरे खटिएका छन्।
लामा कन्स्ट्रक्सनबाट पुल निर्माणमा खटिएका क्वालिटी कन्ट्रोल इन्जिनियर दीपेन्द्र महतोले प्राविधिकहरुले लगाएको आरोपको खण्डन गरेका छन्। '२ सय ७० टन भार परीक्षण सफल भएको छ। एमपिए नपुगेको कुरा तथ्यहीन हो,' उनले भने।
सुपरभिजन कन्सलटेन्टसँग ठेकेदार कम्पनी लामा कन्स्ट्रक्सनले आन्तरिक मिलेमतोमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरिएको स्रोतले जानकारी गराएको छ। सुपरभिजन कन्सल्टेन्टका रुपमा तीन कम्पनीले काम गरिरहेका छन्। कार्यरत एक प्राविधिकले भने, ‘पुनः परीक्षण गर्न आग्रह गरेपनि निर्माण कम्पनीले चासो दिएको छैन। घर ढलान जस्तै गरी पुल निर्माण गरिएको छ।’ गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरिएकोप्रति असन्तुष्टि जनाउँदै उनले निर्माणाधीन पुल धेरै नटिक्ने ठोकुवा गरे। सबै मापदण्ड पुगेका पुलको आयु न्यूनतम ६० वर्ष हुनेसमेत उनले बताए।
विश्व बैंकको सहयोगमा उक्त पुल बन्न लागेको हो। लामा कन्ट्रक्सनले कर्णाली प्रदेशमा विभिन्न ६ वटा पूल निर्माण गरिरहेको छ।
ठेकेदार कम्पनीको स्वामित्व भएका लामा दोलखाबाट कांग्रेसको प्रतिनिधिसभाका समानुपातिक सांसद छन्। कन्स्ट्रक्सनले बाटो, पुल, हाइड्रोपावर, सिंचाई, खानेपानी वितरणलगायतका आयोजना निर्माण गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।