काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान गरेकी छन्। चीनको हपबेई प्रान्तको स्योङआनमा आयोजना हुन लागेको ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी हुन उनी बिहीबार चीन प्रस्थान गरेकी हुन्।
‘परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण’ भन्ने मूल विषय रहेको उक्त सम्मेलन अक्टोबर २३ देखि २५ सम्म आयोजना हुँदैछ। सम्मेलनमा भण्डारीले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।
सम्मेलनअन्तर्गत अक्टोबर २४ र २५ मा विभिन्न विषयमा समानान्तर सत्र, प्यानल छलफल तथा गोलमेच बैठक आयोजना गरिनेछ।
फोरममा संयुक्त राष्ट्रसंघ केन्द्रित अन्तर्राष्ट्रिय प्रणालीको संरक्षण, विश्व शान्ति र शान्ति स्थापनाका लागि आवश्यक सुधार, बहुपक्षीयताको प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय सम्बन्धमा विकासशील मुलुकको बढ्दो भूमिकालगायतका विषयमा छलफल हुनेछ।
त्यसैगरी अन्तर्राष्ट्रिय व्यापारमा ‘ग्लोबल साउथ’का मुलुकको भूमिका, जलवायु परिवर्तन, हरित तथा न्यून कार्बन विकास, दिगो विकास, कृत्रिम बौद्धिकता र साइबर स्पेसका विषयमा समेत बहस हुने कार्यक्रम छ।
पूर्वराष्ट्रपति भण्डारी आगामी सोमबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।