काठमाडौं– सरकारले सुरक्षार्थ खटाएका सुरक्षाकर्मीलाई फिर्ता बोलाएसँगै नेकपा एमालेको ललितपुरस्थित च्यासलमा रहेको भवन असुरक्षित भएको चर्चा चलाइयो ।
गत असोज २६ गते बिहानै एमालेको केन्द्रीय कार्यालयको सुरक्षामा खटिएका प्रहरीलाई फिर्ता बोलाइएको थियो ।
त्यसपछि कार्यालय नै असुरक्षित रहेको एमाले नेताहरूले बताए । 'भवन र कम्पाउन्डको संरचनाका कारण असुरक्षित महसुस गरिएको हो । किनकि पर्खालहरूबाट सहजै मानिसहरू प्रवेश गर्न सक्नेलगायतका समस्या थिए', एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले नेपाललाइभसँग भने ।
एमाले त्यसरी त्रसित हुनुमा २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा च्यासलस्थित पार्टी कार्यालयमा भएको आगजनी अर्को कारण थियो । जेनजी आन्दोलनका क्रममा भएको आगजनीपछि प्रहरीका हतियारसमेत हराएका थिए। त्यसपछि खोजीका क्रममा एमाले केन्द्रीय कार्यालयबाट प्रहरीको एक थान पेस्तोल फेला परेको थियो।
आगजनीबाट क्षति पुगेको कार्यालय पुनर्निर्माण गरी पुनः सञ्चालनमा ल्याइएको थियो ।
२४ सै घण्टा पहरा दिने प्रहरी हटाइएपछि एमालेले कार्यालय असुरक्षित हुनबाट जोगाउन नयाँ सुरक्षा व्यवस्था अपनाएको छ । कार्यालयमा सीसीटीभी जडान गर्नुका साथै पूर्वसुरक्षाकर्मीहरूलाई सुरक्षाको जिम्मा दिएको छ । आचार्य भन्छन्, 'अब असुरक्षाको अवस्था छैन ।'
एमाले कार्यालय सार्ने चर्चा
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा प्रयोग भइरहेका सरकारी जग्गा तथा संरचना खाली गर्न सूचना जारी गरेपछि एमालेको च्यासलस्थित कार्यालय सार्ने चर्चा भएको थियो । तर, अहिलेसम्म कार्यालय सार्ने ठोस योजना सार्वजनिक भएको छैन ।
च्यासलस्थित कार्यालय वर्षायाममा डुबानको समस्याबाट प्रभावित हुँदै आएकाले पनि सार्नुपर्ने बाध्यता छ ।
मन्त्रिपरिषद्को २०५८ साल चैत महिनाको निर्णयअनुसार १२ रोपनी ६ आना ५ पैसा ३ दाम जग्गा तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानका नाममा भोगाधिकार दिइएको थियो । एमालेले पछिल्लो समय प्रतिष्ठानकै जमिन कार्यालय प्रयोजनमा लिएको थियो । तर, हालसम्म उक्त जग्गा औपचारिक रूपमा लिज प्रक्रियामा रूपान्तरण भएको छैन ।
सरकारले भोगाधिकारमा लिइएका सरकारी जग्गा र त्यसमाथि बनेका संरचना खाली गर्न निर्देशन दिएसँगै च्यासलस्थित एमाले कार्यालयको भविष्यबारे आशंका उत्पन्न भएको छ । तर, एमालेले पछिल्लो पटक झन् कसिलो सुरक्षा व्यवस्थासहित कार्यालय सञ्चालन गरिरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।