न्युयोर्क - फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको मातृ कम्पनी मेटालाई डेटा गोपनीयतासम्बन्धी मुद्दामा २५ अर्ब अमेरिकी डलर जरिवाना तिर्न आदेश दिइएको छ।
बीबीसीका अनुसार अमेरिकाको न्यु मेक्सिको राज्यस्थित एक अदालतले फेसबुक प्रयोगकर्ताको व्यक्तिगत डेटा गोपनीयताबारे उपभोक्तालाई भ्रमित पारेको ठहर गर्दै मेटालाई उक्त जरिवाना तिर्न आदेश दिएको हो।
जुरीले कम्पनीलाई दोषी ठहर गरेपछि न्यायाधीश फ्रान्सिस म्याथ्युले बुधबार जरिवानाको आदेश दिएका हुन्।
न्यु मेक्सिकोका महान्यायाधिवक्ता राउल टोरेजले उक्त जरिवाना अमेरिकाको इतिहासमा कुनै कम्पनीविरुद्ध लगाइएका सबैभन्दा ठूला आर्थिक दण्डमध्ये एक भएको बताएका छन्।
यो मुद्दा सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनका क्रममा डोनाल्ड ट्रम्पको चुनावी अभियानसँग सम्बन्धित बेलायती राजनीतिक परामर्शदाता कम्पनी क्याम्ब्रिज एनालिटिकाले लाखौँ फेसबुक प्रयोगकर्ताको अनुमतिबिना व्यक्तिगत डेटा संकलन गरेको घटनासँग सम्बन्धित छ।
न्यु मेक्सिकोका महान्यायाधिवक्ताले सन् २०२१ मा मेटाविरुद्ध मुद्दा दायर गरेका थिए। कम्पनीले राज्यका फेसबुक प्रयोगकर्तालाई उनीहरूको व्यक्तिगत डेटा कसको पहुँचमा छ र त्यसलाई कसरी प्रयोग गरिरहेको छ भन्ने विषयमा गलत जानकारी दिएको आरोप लगाइएको थियो।
न्यायाधीश म्याथ्युले आफ्नो आदेशमा मेटाको गलत कार्य वर्षौँसम्म व्यवस्थित रूपमा सार्वजनिक भएको र कम्पनीको मुख्य व्यावसायिक अभ्याससँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गरेका छन्।
रोयटर्सका अनुसार राज्यको कानुनअनुसार २१९ अर्ब डलरभन्दा बढी जरिवाना उपयुक्त हुन सक्ने देखिए पनि न्यायाधीशले त्यसलाई घटाएर २५ अर्ब अमेरिकी डलर कायम गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।