जाजरकोट- आइतबार सम्पन्न निर्वाचनको मतपेटिका लिएर सदरमुकाम आउँदै गरेको टोलीलाई लक्षित गरी जाजरकोटमा बम विस्फोट गराएको छ।
आज बिहान कुशे गाउँपालिका–१ को मतपेटिका बोकेको टोलीलाई लक्षित गरी बम विस्फोट भएको हो। रोलखोला भन्ने ठाउँमा विस्फोट भएको हो।
विस्फोटबाट मतपेटिका बोकेका सहयोगी शान्तबहादुर बस्नेत सामान्य घाइते भएको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए।
एक जना सहयोगी सामान्य घाइतेबाहेक अन्य कुनै क्षति नभएको प्रहरी नायब उपरीक्षक रिमालले बताए। मतपेटिका सुरक्षित रहेको र बेलुकासम्ममा सदरमुकाम पुग्ने उनको भनाइ छ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले बम विस्फोट गराएको हुन सक्ने प्रहरीले आशंका गरेको छ। गत शुक्रबार मात्रै सोही वडाका वडाध्यक्ष गोपाल नेपालीलाई विप्लवका कार्यकर्ताले अपहरण गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।