काठमाडौं- नयाँ संविधानको व्यवस्था अनुसार प्रदेश र प्रतिनिधिसभा निर्वाचनको पहिलो चरणमा स्थानीय तह पुनर्संरचनामा असन्तुष्ट भएकाले विज्ञप्ति जारी गर्दै मतदान बहिष्कार गर्नेदेखि मतपेटिकामा १४ मत मात्र खसेका घटना भएका छन्।
केही स्थानमा लोकतान्त्रिक र वाम गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ भने प्रहरी र पार्टीका कार्यकर्ताबीच हात हालाहाल समेत भयो।
प्रदेश र प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचन अन्तर्गत आइतबार प्रदेश नम्बर २ बाहेकका ३२ जिल्लामा निर्वाचन सम्पन्न भएको छ। निर्वाचनमा झन्डै ७० प्रतिशत मतदान भएको इन्सेकले गरेको पर्यवेक्षणमा देखिएको छ।
३२ जिल्लाका प्रतिनिधिसभा सदस्यका लागि ३७ र प्रदेशसभा सदस्यका लागि ७४ सिटका लागि निर्वाचन सम्पन्न भएको हो। प्रतिनिधिसभाका लागि २ सय ८२ र प्रदेशसभाका लागि ४ सय २० उम्मेदवार चुनावी मैदानमा थिए। निर्वाचनमा ३१ लाख ९१ हजार ९ सय ४५ मतदानका लागि २ हजार ९ सय १९ निर्वाचनस्थल र ४ हजार ४ सय ६५ मतदान केन्द्र तोकिएका थिए।
पहिलो चरणको निर्वाचन पर्यवेक्षण गर्न अनुमति पाएको इन्सेकले ५ सय मतदानस्थलको पर्यवेक्षण गरेको थियो।
उक्त निर्वाचनमा हुम्लाको शंखेली गाउँपालिकाको एक मतदान केन्द्रका मतदाताले भने भोट हाल्न अस्वीकार गरेको इन्सेकको प्रतिवेदनमा उल्लेख छ।
हुम्लाको शंखेली गाउँपालिका– ३ रारा आधारभूत विद्यालय मेखाला मतदान केन्द्रमा मतदाता नै उपस्थित नभएपछि मतदान हुन सकेन। १ सय १९ मतदाता रहेको उक्त केन्द्रमा एक जना पनि मतदाता उपस्थित नभएपछि आयोगका कर्मचारी र सुरक्षाकर्मी घाम तापेर बसेका प्रतिवेदनमा उल्लेख छ।
स्थानीय तहको पुनःसंरचनामा असन्तुष्ट स्थानीयले विज्ञप्ति सार्वजनिक गर्दै मतदानस्थल नगएका हुन्। उक्त मतदान केन्द्र सदरमुकामबाट ४० कोस टाढा पर्छ।
पर्यवेक्षणमा यस्तो देखियो-
- देशका विभिन्न भागमा भएको निर्वाचनविरोधी गतिविधि तथा हिमाली र उच्च पहाडी जिल्लाको चिसो मौसमको बेवास्ता गर्दै मतदाताले उत्साहपूर्वक भाग लिएका थिए।
- नगन्य घटनाबाहेक निर्वाचन शान्तिपूर्वक सम्पन्न भएको भएको छ।
- विगतका निर्वाचन जस्तै यस निर्वाचनमा पनि अपाङ्ग मतदाताले मतदान गर्न कठिनाइ भोग्नु पर्यो। मतदान केन्द्रहरू अपाङ्गमैत्री नभएको पाइयो।
- केही मतदान केन्द्र साँघुरो भएका कारण मतदान कार्य ढिला हुनुका साथै मतदातालाई अप्ठ्यारो भएको पाइयो।
- मौसम अनुकूल मतदानको मिति तय नगरिँदा उच्च हिमाली जिल्लामा निर्धारित समयमा मतदान सुरु हुन सकेन भने मतदाताले सास्ती भोग्नुपर्यो।
- उच्च हिमाली जिल्लाका मतदान केन्द्रमा सञ्चार सम्पर्क हुन नसक्दा मतदान अवस्था बारेमा जानकारी पाउन कठिनाइ भएको पाइयो।
- निर्वाचन अवधिभर अनुमति नभएका सवारीसाधन चलाउन नपाइने भए पनि धादिङको सदरमुकाम बाहेकका मतदानस्थलमा राजनीतिक दलले भाडाका सवारी साधनमा मतदाता ओसारपसार गरेको पाइयो।
- संखुवासभाको भोटखोला गाउँपालिका–२ मा रहेको दूधपोखरी आधारभुत विद्यालय मतदान केन्द्रमा ११ बजेपछि सुरु भएको मतदानमा हालसम्म १४ जनाले मात्रै मत खसालेका छन्। मतदान केन्द्रमा ४४ जना मात्रै मतदाता रहेका थिए।
- धादिङका खनीयावास गाउँपालिका–२ स्थित बेन्दीदेवी मावि मतदान केन्द्रमा लोकतान्त्रिक गठबन्धनले बाम गठबन्धनका कार्यकर्तामाथि अक्रमण गरी सो मतदान केन्द्र कब्जामा लिने प्रयास गरेका थिए। त्यस्तै रुवीभ्याली गाउँपालिका–२ दोङदेन मावि मतदान केन्द्रमा लोकतान्त्रिक गठबन्धानको भोट भाग लगाएर हाल्ने प्रस्ताव वाम गठबन्धनका कार्यकर्ताले नमानेपछि मतदान अवरुद्ध भएको थियो। दुई पक्षबीचको छलफलले मतदाताले नै मतदान गर्ने सहमति गरेपश्चात् २ बजेबाट पुन: सुरु भएको थियो।
- बाजुराको बुढीगंगा गाउँपालिका शारदा मावि मतदान केन्द्रमा रहेका एमाले निर्वाचन प्रतिनिधिलाई कांग्रेस कार्यकताले कुटपिट गरेपछि १०:३० बजे स्थगित भएको मतदान सर्वदलीय सहमतिपछि ११.४५ देखि पुन: सुरु भएको थियो।
- जाजरकोटको भेरी नपा–४ स्थित कस्तुरी मतदान केन्द्र (क) मा नेपाली कांग्रेसका मतदान प्रतिनिधिले मतदातालाई प्रभाव पार्न खोजेको विषयमा वाम गठबन्धनका कार्यकर्ताले विरोध जनाएपछि उक्त मतदान केन्द्रमा बिहान १०:३० बजेबाट स्थगित मतदान सर्वदलीय बैठकपछि १२ बजेदेखि सुरु भएको थियो।
- प्रहरी र नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताबीच भएको झडपका क्रममा कालिकोटको मर्मा गाउँस्थित ठिगेली आधारभूत विद्यालय मतदान केन्द्रमा क्षति भएको बुथ पुननिर्माण गरी मतदान कार्य १०:३० बजेबाट सुरु भएको थियो।
- डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका १ स्थित धर्मशालाचौर मतदान केन्द्रमा वारेसनामाको विषयमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताबीच विवाद भएपछि प्रहरीले बल प्रयोग गर्दा दुई जना मतदाता घाइते भए। घटनापछि रोकिएको मतदान कार्य दिउँसो २:४५ बाट पुन सुरु भएको थियो।
- डोल्पाका ६६ मतदानस्थल शे-फोक्सुन्डोका याङजेर गुम्बा, फोद गाउँ, कु गाउँ केन्द्र र डोल्पो बुद्धको पुरानो कलाङ, छार्काताङसोङ गाउँपालिकामा पर्ने सप्तकोसी, कागकोट र घेराङ मतदान केन्द्रमा दिउँसो २ बजेसम्म सम्पर्कविहीन भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।