काठमाडौं- सर्लाही निर्वाचन क्षेत्र नम्बर-४ का माओवादी केन्द्रका उमेदवार शिवपूजन राय यादवको उम्मेदवारी रद्द भएको छ। उनीविरुद्ध उजुरी परेपछि निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेको हो।
सोही क्षेत्रका स्वतन्त्र उमेदवार गणेशकुमार सिंहले जिल्लामा र अर्का स्वतन्त्र उम्मेदवार अनिलकुमार सिंहले निर्वाचन आयोगमै गत कात्तिक १९ गते उजुरी दिएका थिए। सुनुवाइ नभएपछि उनीहरु सर्वोच्चसम्म पुगेका थिए। तर सर्वोच्चलाई आयोगले जवाफ पठाउनुअघि नै उनको उम्मेदवारी खारेज भयो।
राय पहिलो संविधानसभाका सदस्य थिए। कूटनीतिक राहदानी दुरुपयोग गर्दै आएका उनलाई विशेष अदालतले कारबाही समेत गरेको थियो।
सर्लाही-४ मा उनको विरुद्धमा कांग्रेसबाट अमरेशकुमार सिंह र राजपाबाट राकेश मिश्रले उम्मेदवारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।