काठमाडौँ – सूचना तथा सञ्चार मन्त्री एवं नेपाली काँग्रेसका नेता मोहनबहादुर बस्नेतले वाम गठबन्धनका कार्यकर्ताले बुथ कब्जा गर्न गरेको प्रयास सुुरक्षाकर्मीका कारण पूर्ण हुन नपाएको बताएका छन्।
मन्त्री बस्नेतले सिन्धुपाल्चोकका आधा दर्जन मतदानस्थलमा वाम गठबन्धन आबद्ध दलले निर्वाचनबाट हतोत्साही भएपछि गुण्डा प्रयोग गरी बुथ कब्जा गर्न गरेको प्रयास सुरक्षाकर्मीको सक्रियताले सफल हुन नपाएको जानकारी दिए।
उनले सिन्धुपाल्चोकका बाह्रबिसे नगरपालिका–६ जाथी मतदानस्थलमा बुथ कब्जा गर्ने उद्देश्यले भाडामा ल्याइएका गुण्डा चढेको टिपरलाई प्रहरीले नियन्त्रणमा लिएपछि उनीहरु तितरबितर भएको बताए। उच्छृङ्खल समूहले निर्वाचनको सुरक्षा व्यवस्था बिथोल्न खोज्दा आज जिल्लाका दुई स्थानमा प्रहरीले हवाई फायरसमेत गर्नुपरेको थियो।
त्यस्तै जिल्लाको तातोपानीस्थित कोदारी, खुल्पिङ डाडागाउँ, कुभिण्डे, पाङ्टाङ, धुस्कोटलगायत मतदानस्थलमा कम्युनिस्ट दलले गुण्डा प्रयोग गरी बुथ कब्जा गरेको र सुरक्षाकर्मीले पूर्ण सफल हुन नदिएको मन्त्री बस्नेतले बताए।
समग्रमा जिल्लामा मतदान शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएकामा खुशी व्यक्त गर्दै उनले भने, “जनताले शान्ति चाहेका छन्, लोकतन्त्र संस्थागत र सुदृढ गर्न जनता प्रतिबद्ध छन्।”
सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका मन्त्री बस्नेतले उत्साहपूर्वक आम मतदाताले मतदान गरेकोमा हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।
सिन्धुपाल्चोकलगायत उच्च पहाडी र हिमाली ३२ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचन आज सम्पन्न भएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।