दोलखा – दिनभर शान्त रहेको दोलखाको निर्वाचनमा अपराह्नपछि तनाव शुरु भएको छ।
नखसेको मत अन्य व्यक्तिले हाल्न खोजेपछि जिल्लाका विभिन्न मतदान केन्द्रमा तनाव भएको हो । बैत्येश्वर गाउँपालिका–७ मार्वुमा वाम गठबन्धनका कार्यकर्ताले बुथ कब्जा गरेर मत हालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले पाँच राउन्ड हवाई फायर गरेको छ।
केहिले मतदान केन्द्र नियन्त्रणमा लिन खोजेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले बाध्य भएर हवाई फायर गर्नुपरेको प्रमुख जिल्ला अधिकारी लक्ष्मणविक्रम थापाले जानकारी दिए।
यस्तै गौरीशंकर गाउँपालिकाको सुरीमा वाम गठबन्धनका कार्यकर्ताले काँग्रेसका कार्यकर्तालाई लखेटेर मतदान केन्द्र कब्जामा लिन खोजेपछि केहिबेर दुबै पक्षबीच झडप भएको जनाएको छ।
सोही गाउँपालिकाको जुँगुमा काँग्रेसका गाउँ सभापति ज्ञानबहादुर जिरेललाई कुटपिट गरेर मतदानस्थलबाट भगाएका छन् । त्यहाँ पनि प्रोक्सी मत हालिरहेको काँग्रेस जिल्ला सचिव सन्तोष रिमालले आरोप लगाए।
दोलखा भिरकोटमा बुथ कब्जा गर्न खोज्ने वाम गठबन्धनका युवालाई प्रहरी नियन्त्रणमा लिएको छ । तामाकोसी गाउँपालिका–१ एक्लेबारीस्थित वडा कार्यालयमा रहेको बुथमा वाम गठबन्धनले ल्याएका केही युवाले बुथ कब्जा गर्न खोजेपछि, प्रहरी नायब उपरीक्षकको कमाण्डमा रहेका प्रहरीले सात जना युवालाई पक्राउ गरेको छ।
पक्राउ परेकालाई सदरमुकाम चरिकोट ल्याई कानूनी प्रक्रियाअनुसार कारबाही गरिने प्रमुख जिल्ला अधिकारी लक्ष्मणविक्रम थापाले सञ्चारकर्मीलाई जानकारी दिए।
सधैंजसो झगडा भइरहने बैत्यश्वर गाउँपालिकाको गैरीमुदीलगायतको बुथमा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको पनि जिल्ला निर्वाचन सुरक्षा समितिले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।