काठमाडौं– छिटपुट बाहेक पहिलो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ।
हिमाली र उच्च पहाडी क्षेत्रका ३२ जिल्लामा भएको निर्वाचनमा प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रका लागि मतदान भएको थियो।
स्थानीय तहको निर्वाचन सकिए लगत्तै भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा स्थानीय तहको चुनावभन्दा कम मत खसेको छ।
निर्वाचन आयोगका अनुसार, पहिलो चरणको निर्वाचनमा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ। स्थानीय तहको निर्वाचनमा भने करिब ७५ प्रतिशत मत खसेको थियो।
यद्यपि विभिन्न जिल्लाबाट विवरण आउने क्रम जारी रहेकाले खसेको मतको प्रतिशत बढ्न सक्ने आयोगले आकलन गरेको छ।
संघीय संरचना अनुसार देशमै पहिलो पटक प्रदेश सभाको निर्वाचन भए पनि मतदाताको सहभागिताले यसप्रति कम उत्साह देखाएको छ। प्रदेश र संघको निर्वाचन फरक विषय भएपनि दलहरुको दबाबका बीच निर्वाचन आयोग एकैपटक दुवै तहको निर्वाचन गर्ने निष्कर्षमा पुगेको थियो।
आम मतदातामा स्थानीय तहको चुनाव जस्तो उत्साह यो निर्वाचनमा नदेखिँदा किन कम मत खस्यो भन्ने प्रश्न उठेको छ।
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवका अनुसार यस पटकको निर्वाचनमा थोरै मत खस्नुका धेरै कारण छन्।
उनका अनुसार, मौसमको कारणले निर्वाचनमा थोरै मत खसेको आयोगले प्रारम्भिक अनुमान छ। पहिलो चरणको निर्वाचनमा हिमाली र उच्च पहाडी जिल्ला समावेश भएकाले पनि मतदातालाई निर्वाचनमा भाग लिन सकस भयो।
आयोग स्रोतका अनुसार, पहिलो पटक भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनबारे पर्याप्त मतदाता शिक्षा दिन नसक्दा समेत कम मत खसेको हो।
प्रमुख निर्वाचन आयुक्त यादवले मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनमा भने अहिलेको तुलनामा बढी मत खस्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।