दोहा- छिमेकी देशहरुबाट नाकाबन्दी खेपिरहेको कतारले तीव्र गतिमा आर्थिक वृद्धिदर हासिल गरिरहेको दाबी गरिएको छ।
कतारको केन्द्रीय बैंकका गभर्नर सेख अब्दुल्लाह विन साउड अल थानीले खाडी सहयोग परिषद् (जिसीसी) मा पर्ने देशहरुमध्ये कतारमा सबैभन्दा धेरै आर्थिक वृद्धि भइरहेको बताएका हुन्। गभर्नर अल थानीले आगामी वर्ष आर्थिक वृद्धिदर अझ बढ्ने समेत बताएका छन्।
उनलाई उद्धृत गर्दै कतार समाचार संस्थाले यस्तो समाचार सम्प्रेषण गरेको हो। कतारले नाकाबन्दीपछि आर्थिक अवस्था खस्कन नदिन सतर्कता अपनाएकाले वृद्धिदर तीव्र भएको समाचारमा उल्लेख गरिएको छ।
कतारले सन् २०१७ मा २.५ प्रतिशत कुल गार्हस्थ उत्पादन हुने प्रक्षेपण गरेको केन्द्रीय बैंकले जनाएको छ।
साउदी अरब, बहराईन, इजिप्ट र युनाईटेड अरब इमिरेट्स् (युएई)ले गत जुन ५ देखि कतारमाथि कूटनीतिक समस्या सिर्जना गर्दै नाकाबन्दी गरेका छन्।
नाकाबन्दी गर्ने देशहरुले कतारले आतंकवादी र अतिवादीहरुलाई सहयोग गरेको, उनीहरुको आन्तरिक मामिलामा हस्तक्षेप गरेको र इरानसँगको कूटनीतिक सम्बन्ध बलियो बनाउँदै लगेको लगायतका आरोप लगाएका छन्। तर ती सबै आरोपलाई कतारले अस्वीकार गर्दै आएको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।