काठमाडौं - नयाँ पत्रिका दैनिकका पत्रकारलाई पक्राउ गर्न प्रहरीले समाचार कक्षमै प्रवेश गरेको भन्दै नेपाल पत्रकार महासंघ, नयाँ पत्रिका दैनिक प्रतिष्ठान शाखाले आपत्ति जनाएको छ। सादा पोशाकमा रहेका सात जना प्रहरी प्रवेश गरेकाे विज्ञप्तिमा उल्लेख छ ।
महासंघको प्रतिष्ठान शाखाले २०८३ कात्तिक १३ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार, आज साँझ साढे ५ बजे सादा पोसाकमा आएका प्रहरी नयाँ पत्रिकाको समाचार कक्षमा जबर्जस्ती प्रवेश गरेका थिए। उनीहरूले पत्रकार महासंघ नयाँ पत्रिका प्रतिष्ठानका पूर्वअध्यक्ष तथा खोज तथा अनुसन्धान ब्युरो संयोजक नरहरि सापकोटालाई जबर्जस्ती लैजान प्रयास गरेको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा पत्रकारलाई लैजान खोजिएको घटनाप्रति आपत्ति जनाउँदै यसले पत्रकारिता क्षेत्रलाई त्रसित बनाउने काम गरेको उल्लेख गरिएको छ।
समाचारका विषयमा चित्त नबुझे सम्बन्धित कानुन आकर्षित हुने र प्रेस काउन्सिल नेपाल जाने कानुनी व्यवस्था हुँदाहुँदै प्रहरीले यसरी पक्राउ गरेर लैजान खोज्नु खेदजनक रहेको महासंघको भनाइ छ।
नेपाल पत्रकार महासंघ, नयाँ पत्रिका दैनिक प्रतिष्ठान शाखाले पत्रकारमाथि भएको व्यवहारको घोर भर्त्सना गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।