काठमाडौं– प्रेस काउन्सिल नेपालले पक्राउ गरिएका पत्रकारको अवस्था र पक्राउको कानुनी आधार तत्काल सार्वजनिक गर्न सरकार तथा प्रहरी प्रशासनसँग माग गरेको छ ।
काउन्सिलले पक्राउको स्पष्ट कारण नखुलाइएको, पक्राउ पुर्जी नदेखाइएको र अदालतको अनुमति लिइएको नदेखिएको अवस्थामा पत्रकारलाई नियन्त्रणमा लिइनु गम्भीर आपत्तिको विषय भएको जनाएको छ ।
लगातार दुई दिन सार्वजनिक बिदा पर्नुअघि पत्रकार पक्राउ गरिएको घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि प्रश्न उठाएको काउन्सिलको ठहर छ ।
काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तिमा समाचार सामग्रीप्रति असहमति वा आचारसंहितासम्बन्धी उजुरीको छानबिन र निरूपण गर्ने कानुनी जिम्मेवारी प्रेस काउन्सिलकै रहेको स्मरण गराइएको छ ।
समाचारकै विषयमा प्रहरी परिचालन गर्नुको सट्टा काउन्सिलको स्थापित विधि र प्रक्रियाबाट समाधान खोज्न सरकार, प्रहरी प्रशासन र सम्बद्ध पक्षलाई आग्रह गरिएको छ ।
कानुनी आधारबिना नियन्त्रणमा राखिएको भए पत्रकारलाई तत्काल रिहा गर्न पनि काउन्सिलले माग गरेको छ । साथै पत्रकार तथा सञ्चारमाध्यमलाई सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्दै पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।